ओली–महराको ‘छापामार’ कार्यबाट कांग्रेसको जित, कम्युनिस्टहरूको हार

काठमाडौं । छापामार शैलीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको दवावमा सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गराएका छन् ।

महराले विधेयक पारित गराउन अपनाएको शैलीको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । कांग्रेसले आफूलाई कम्युनिस्ट सरकार र उनको अधिनायकवाद शैलीविरुद्ध उभ्याउने चेतावनी दिइसकेको छ ।

महराले ‘मार्शल’ लगाएर चिकित्सा विधेयक पारित गराउँदा ‘छापामार’ शैली अपनाएको आरोप लागेको छ ।

वरिष्ठ सञ्चारकर्मी विजयकुमार पाण्डेले चिकित्सा शिक्षा विधेयक पारित भएपनि प्रधानमन्त्री केपी ओलीको हार भएको टिप्पणी गरेका छन् ।

‘संसदीय व्यवस्थामा प्रधानमन्त्री ‘संसदको नेता’ (लिडर अफ हाउस) पनि हुन् । डा.गोविन्द केसीसंग होस् वा अरु जो कोहीसंग होस प्रधानमन्त्रीले गरेको सम्झौतालाई संसदबाट पास गराउनु उनकै दायित्व हो’, पाण्डेले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘विधेयक पास भएको छ तर, संसदको नेता’को हार भएको छ ।’

सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालले पनि प्रधानमन्त्री ओलीको नियतमाथि प्रश्न उठेको टिप्पणी गरेका छन । उनले भनेका छन, ‘संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएको प्रक्रियाले डा.केसीको स्वास्थ्यको साथ(साथै प्रधानमन्त्रीको विश्वसनीयता समेतमा प्रश्न चिह्न खड़ा भएको छ ।’

नेपाली कांग्रेसले आफ्नो सालिन र भद्र संसदीय शैलीलाई कम्युनिस्ट सरकार र सभामुखले कमजोरीका रुपमा लिएको सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ । कांग्रेसप्रति सहानुभूति दिनेहरू बढेका छन् ।

तर, कम्युनिस्ट सरकार र सभामुखलाई सहानुभूति भन्दा पनि आलोचना गर्नेहरूको संख्या धेरै छ । ओली र महरालाई कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता र सीमित सञ्चारकर्मीहरू बाहेक कसैले पनि समर्थन गरेका छैनन् ।

कम्युनिस्ट सरकारले दुई तिहाईको बहुमतको सरकारको दम्भ संसदमा देखाएकोमा संसदीय मूल्य र मान्यतामाथि विश्वास गर्नेहरूले एक पटक सोँच्न बाध्य भएका छन् ।

संसदीय पद्धतिमा प्रमुख विपक्षी दलको विरोध हुनेवित्तिकै संसद चल्दैन । तर, सभामुख महराले मार्शल लगाएर चिकित्सा शिक्षा विधेयक पारित गराएर कम्युनिस्ट पार्टीको दवावमा छन् र स्वतन्त्र रुपमा काम गर्न सक्दैनन् भनेर देखाएका छन् भन्नेहरू धेरै देखिएका छन् । कांग्रेसले नै सभामुख महराले निष्पक्ष रुपमा भूमिका निभाउन नसक्ने भनेर टिप्पणी गरिसकेको छ ।

संसदमा शुक्रबार कम्युनिस्ट सरकार र सभामुख महराले देखाएको चर्तिकलाबाट संसदीय पद्धतिमा विश्वास गर्ने कांग्रेसको जित भएको टिप्पणी भएको छ । विधेयक पास भएपनि कम्युनिस्ट सरकार र सभामुख महराको हार भएको भनेर टिप्पणी आउन थालेका छन् ।

Published : Saturday, 2019 January 26, 7:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया