कम्युनिस्ट सरकारका कारण जोखिममा पुगे डा.केसी

काठमाडौं । चिकित्सा क्षेत्रको सुधार माग गरेर २० दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्यस्थिति अत्यन्त जोखिमपूर्ण भएको छ ।

कम्युनिस्ट सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गरेपछि डा.केसी इलामबाट अनसन शुरु गरेका हुन् । स्वास्थ्य विग्रिएपछि उनलाई काठमाडौं ल्याइएको थियो ।

चिकित्सकहरूले डा.केसीको स्वास्थ्य गम्भीर रहेको बताएका हुन् । त्रिवि शिक्षण अस्पताल आईसीयूका प्रमुख एवं डा. केसीको मेडिकल टिमका संयोजक डा. सुवासप्रसाद आचार्यले यस्तै स्थिति रह्यो भने डा.केसीलाई कुन बेला के हुन्छ भन्न नसक्ने बताए ।

डा.केसीले उपचार गराउन नमानेकाले सामान्य स्लाइन मात्र दिइएको छ । डा.केसीको शरीर अत्यन्त कमजोर भएको छ । छाती दुख्ने समस्या बढेको छ ।

मुटुको समस्याका लागि नियमित रूपमा खाइरहेको औषधिसमेत डा.केसीले अनशन अवधिमा खाएका छैनन् । यसले गर्दा स्वास्थ्यमा थपजटिलता देखिएको छ ।

ईसीजीमा परिवर्तन देखिएपछि पहिले पनि दुईपटक कोरोनरी एन्जियोग्राफी गरिएको थियो । त्यसयता केसीले यो औषधि खाइरहेका थिए ।

डा.केसीको रगतमा म्याग्नेसियम, क्याल्सियम, फस्फोरस, पोटेसियमको मात्रा निकै कम भएको छ । सोडियम, क्याल्सियमको कमीले मस्तिष्कमा असर पार्छ भने पोटेसियम र म्याग्नेसियमको कमीले मुटुमा असर गर्छ ।

उनको रक्तचाप बेलाबेला ८०–५० सम्म पुग्ने गरेको छ । चिकित्सकका अनुसार मुटुको मांसपेशीमा रगत, अक्सिजन, ग्लुकोज कम भएर डा. केसीमा छाती दुख्ने समस्या देखिएको हो र यो हृदयाघातभन्दा अगावै हुने दुखाइजस्तै हो ।

१६ औं अनशन बसिरहेका डा.केसीले २० दिनदेखि खाना नखाएकाले उनको शरीरमा किटोन बडिज (नकारात्मक वस्तु)सञ्चिति बढदै गएको छ ।

उता, नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै सोमबारदेखि देशव्यापी रिले अनशन सुरु गरेको छ ।

अनशन डा. केसीको सत्याग्रह रहेसम्म जारी हुने संघले जनाएको छ । तर, चिकित्सकहरू अनसन बस्न बनाएको ठाउँको टेन्ट प्रहरीले हटाइदिएको छ ।

Published : Tuesday, 2019 January 29, 12:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया