कांग्रेसको कदमले डा.केसीलाई राहत, सरकार र सभामुखलाई झट्का

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराको संसद चलाउने कार्यशैलीको विरोध गर्दै बिहीबारको संसद पनि चल्न नदिने चेतावनी दिएको छ ।

माघ ११ गते सभामुख महराले बसालेको संसदको बैठकलाई लिएर कांग्रेसले आपत्ति जनाउँदै आएको छ । बिहीबारको बैठक चल्ने अवस्था नदेखेपछि सभामुख महराले बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा बोलाएका थिए ।

बैठकमा नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउने बहानामा सभामुख महराले संसदीय प्रक्रिया विपरितको कार्य गरेको भन्दै बिहीबारको बैठक चल्न नदिने अवरोध गर्ने चेतावनी दिएका हुन् ।

कांग्रेसको चेतावनीपछि कम्युनिस्ट सरकार र सभामुख महरा तनावमा परेका छन् । महराको संसद चलाउने कार्यक्षमतामा नेकपाकै सांसद र नेताहरुले समेत प्रश्न उठाउन थालेका छन् । महरा तनावमा परेका छन् ।

सभामुख महराले संसदको बैठक बिहीबारका लागि बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले संसद अवरोध कायमै रहने बताएपछि सरकार र सभामुखले गतिरोध अन्त्यका लागि ठोस प्रस्ताव नै पेस गरेका छैनन् ।

नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल विघटन गर्न खोजेको भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभामा सभामुख महराले प्रमुख विपक्षी दलको कुरै नसुनेर चिकित्सा शिक्षा विधेयक पास गराएपछि तनावको स्थिति उत्पन्न भएको छ ।

कम्युनिस्ट सरकारले दुई अस्पतालबारे कांग्रेसको माग सम्बोधन गरेको भनेर पत्रपत्रिकामा समाचार आएका छन् । ती समाचारप्रति कांग्रेसले विश्वास गरेको छैन ।

कांग्रेसका मुख्य सचेतक खाँणले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल केन्द्र सरकार मातहत ल्याउने विषयमा आफूहरुलाई कुनै पनि औपचारिक जानकारी नआएको बताएका छन् ।

नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा कम्युनिस्ट सरकार र सभामुख महराले अधिकतम शक्ति प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।

माघ ११ गतेको संसदको बैठक जुन ढंगले अगाडि चलाइएको थियो त्यसप्रति कांग्रेसको विरोध रहँदै आएको छ । नेपाली कांग्रेसले माघ ११ गतेको संसदको बैठकको गल्ती सच्याउन सरकार र सभामुख महरालाई आग्रह गरेको छ ।

‘संसदमा चिकित्सा शिक्षाबारे छलफल भयो भने अगाडि बढ्न सक्दैन भन्ने लागेर होला छलफल नगरी अगाडि बढाइयो’, कांग्रेसका प्रमुख सचेतक खाँणले भने ।

डा. गोविन्द केसीसँग भएको सम्झौताका कतिपय विषय उल्टाइएको भएको भन्दै खाँणले यसले सरकारमाथि नै अविश्वासको अवस्था आएको बताएका छन् ।

कांग्रेसले संसद अवरोध गर्ने भएपछि सरकारका तर्फबाट संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रमुख विपक्षी दल कांग्रेसका नेताहरुसँग परामर्श गरेका छैनन् ।

Published : Wednesday, 2019 January 30, 5:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया