बिहीबार नै विधेयक पारित गरिने, डा.केसीका माग पूरा नहुने

काठमाडौं । कम्युनिस्ट सरकारले अनशनरत डा.गोविन्द केसीका मागलाई बेवास्ता गर्दै बिहीबार राष्ट्रिय सभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ ।

कम्युनिस्ट सरकारको दवावमा संसद सचिवालयले राष्ट्रिय सभाबाट विधेयकलाई पारित गरेर लालमोहर लगाउन राष्ट्रपति कार्यालय पठाउने तयारी गरेको स्रोतले जनाएको छ । राष्ट्रिय सभाको बैठक बिहीबार २ बजे बस्दैछ ।

सामान्यतया विधेयकहरू दफावार छलफलका लागि समितिमा पठाउने चलन छ । चिकित्सा शिक्षा विधेयक भने विधायन व्यवस्थापन समितिमा नपठाइ राष्ट्रिय सभाको पूर्ण बैठकमा छलफल गराएर पारित गर्न लागिएको छ ।

चिकित्सा शिक्षा विधेयक आफूसँग भएको सम्झौताविपरीत आउन लागेको भन्दै डाक्टर केसी १६ औं अनशनमा छन् ।

प्रतिनिधि सभामा नाराबाजीबीच पारित भएको विधेयक राष्ट्रिय सभामा समेत छोटो प्रक्रियाबाट अगाडि बढाउन लागिएको छ ।

राष्ट्रिय सभाको कार्यसूचीमा समेत बिहिबार नै विधेयक पारित गर्न शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्ताव पेश गर्ने उल्लेख छ ।

विधेयक समितिमा पठाइए संशोधनकर्ताहरूसँग समितिले छलफल गर्नेछ ।

नेकपाको स्पष्ट बहुमत रहेको अवस्थामा राष्ट्रिय सभामा विधेयक परिमार्जनको सम्भावना छैन ।

राष्ट्रिय सभाका सांसदहरूले चिकित्सा शिक्षा विधेयकमा बिहीबार साढे १२ बजेसम्म संशोधन दर्ता गर्न पाउनेछन् ।

नेकपाका सांसदहरूले विधेयक छिटो छिटो अगाडि बढाउने भन्दै कुनै पनि संशोधन दर्ता नगर्ने भएका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि आफूहरूको संसदमा विरोध रहेको उल्लेख गर्दै बुधबारसम्म कुनै पनि संशोधन दर्ता गराएको छैन ।

कम्युनिस्ट सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेसँगै कांग्रेसको संसदमा अवरोध हट्ने भएको छ ।

राजपा नेपालका वृषेशचन्द्र लालले विधेयकमाथि संशोधन दर्ता गराएका छन् ।

Published : Wednesday, 2019 January 30, 9:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया