यी हुन घुस्याहा एसपी, अरु एसपीहरूलाई पनि कारबाही

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् ।

एसपी बिकलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ ।

अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो ।

२० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन व्यक्तिलाई पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

पछि राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा उक्त धातु ढलोट र तामा भएको खुलेको थियो ।

धातु साटफेर नभई एसपीले सामान्य अनुसन्धान नै नगरी सुन भनेर सार्वजनिक गर्दा समस्या भएको प्रारम्भिक छानबिनको निष्कर्ष छ ।

प्रहरी प्रधान कार्यालयले सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादवमाथि पनि कारबाही प्रक्रिया शुरु गरेको छ ।

घुस खाएको प्रमाण फेला परेपछि त्यहाँबाट हटाएर उनीमाथि कारबाही अघि बढाइएको हो । गाँजा कारोबारी तथा क्रसर सञ्चालकहरूसँग पैसा लिएको उजुरीमा छानबिन गर्दा वास्तविकता रहेको खुलेपछि उनलाई जगेडापुलमा सरुवा गरेर थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।

पाँच महिनाअघि उनले राजमार्गमा अवैध रूपमा चल्ने सवारीसाधनबाट पैसा लिएकोमा समेत छानबिन भएको छ ।

प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा एसपी चक्रबहादुर सिंहलाई पठाएको छ ।

धनुषाका प्रहरी प्रमुख पनि फेरिएका छन् । एसपी गोविन्द थपलियालाई सरुवा गरी धनुषामा शेखर खनाललाई पठाइएको छ । एक वर्षको अवधि पुगेकाले थपलियालाई सरुवा गरिएको हो ।

Published : Thursday, 2019 January 31, 8:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया