ओली सरकारसँग डा.केसी नझुक्ने, औषधि सेवन गर्न अस्वीकार

काठमाडौं । चिकित्सा शिक्षा विधेयकलाई तोडमरोड गरेर प्रतिनिधिसभाबाट पारित गरेको आरोप लगाउँदै आएका अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्न थालेको छ ।

१५औँ अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै २२ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य कमजोर बन्न थालेको हो । अनशनका कारण डा.केसी यसपटक झनै गलेको चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले विगतमा गरेको सहमति उल्लंघन गरेको डा.केसीको भनाइ छ । डा.केसीले सहमति कार्यान्वयन नहुँदासम्म आफ्नो अडान कायम रहने कसैसँग नझुक्ने बताउने गरेका छन् ।

डा.केसीले दुई दिनयता औषधिसमेत खान मानेका छैनन् । औषधि खान नमानेपछि डा.केसीको स्वास्थ्य जटिल बन्दै गएको चिकित्सकहरूले बताएका छन् ।

डा.केसीलाई मंगलबारदेखि छाती दुख्ने समस्या बढेको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले केसीको अवस्था खस्किएको रिपोर्ट चिकित्सकहरूले दिएको बताए ।

डा.केसीले औषधि लिन नमान्दा स्वास्थ्य खस्किन थालेको रिपोर्ट आएको जनाइएको छ । उनलाई बोल्नसमेत समस्या भएकाले इसारा बुझ्न समस्या भएको मेडिकल टिमले जनाएको छ ।

केसीको रगतमा सुगरको मात्रा कम र मुटुको धडकन अस्थिर देखिएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्नुपर्ने अवस्था सरकारले नदेखेको बताएका छन् । उनले भनेका छन्, ‘केका लागि वार्ता गर्ने, औचित्य पनि हुनुपर्छ ।’

‘विगतका माग पूरा गराउन अनशन बसेका हुन्, माग पूरा भइसकेको छ, उनलाई धन्यवाद’, मन्त्री बास्कोटाले भनेका छन्, ‘रिले अनशनका नाममा निजी अस्पताल पोस्ने काम चिकित्सकले गरिरहेका छन् । हामी अहिले चर्को स्वरमा बोल्ने पक्षमा छैनौँ, केबल अनुरोध छ ।’

Published : Thursday, 2019 January 31, 8:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया