सरकार विरोधी कार्यक्रमका लागि कांग्रेसले दियो केन्द्रीय नेताहरूलाई सुविधा

काठमाडौं । कम्युनिस्ट सरकार विरोध कार्यक्रमका लागि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय नेताहरूलाई आ–आफ्नो जिल्ला जान निर्देशन दिएको छ ।

कांग्रेसले सोमबार ७७ वटा जिल्लामा सरकारविरोधी प्रदर्शन गर्न लागेको छ । कांग्रेसले केन्द्रीय नेताहरू आफूूले रोजेकै जिल्लामा जान पाउने गरी सुविधा दिएको छ ।

कांग्रेसको केन्द्रले नाम तोकेरै जिल्ला पठाउने जनाए पनि आफूलाई अनुकूल हुने जिल्ला छानेर केन्द्रीय नेता जान पाउने सुविधा दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

पहिला केन्द्रबाटै निर्णय गरेर सरकारविरोधी कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भने पनि माघ २१ गतेको सरकार विरोधी कार्यक्रममा नेताहरू आफ्नो अनुकूलतामा जान पाउने शर्माले बताए ।

नेताहरूको जिल्लाको रोजाइ र जिल्लाबाट माग भएअनुसार नेताहरूले छनोट गरेर जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुन पाउनेछन् ।

यसअघि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा जोडिएका अस्पताल संघअन्तर्गत राख्नुपर्ने माग गरेअनुसार सरकारले निर्णय गरिसकेको छ । चिकित्सा विधेयकअनुसार डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने माग कांग्रेसको थियो । कांग्रेसको विरोधका बीच यो विधेयक संसद्बाट पारित भइसकेको छ ।

दुई विषय टुंगो लागे पनि कांग्रेसले निरन्तर खबरदारी गर्ने जनाएको छ । निर्मला पन्तले न्याय नपाएको, सरकार निरकुंश बन्दै गएको, भ्रष्टाचार बढेकोजस्ता विषय उठाउँदै कांग्रेसले सरकारको काममाथि खबरदारी गर्दै छ ।

विरोध कार्यक्रमका लागि ६ बुँदा घोषणा गरे पनि अब प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिविना संवैधानिक परिषद्को बैठक राखेर निर्णय गरेको, देशव्यापी रूपमा बढेको हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको, महँगी, भ्रष्टाचार एवं अनेकौँ जनविरोधी निर्णय गरेको र जिल्लास्तरमा रहेका स्थानीय मुद्दा उठाउँदै सरकारको विरोधमा जनमत बढाउन कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

Published : Sunday, 2019 February 3, 11:26 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया