गगनको अभिव्यक्तिले कम्युनिस्ट सरकारलाई छटपटी, आयो प्रतिक्रिया

काठमाडौं । कम्युनिस्ट सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लगाएको आरोपहरूलाई अस्वीकार गरेको छ ।

नेपाली कांग्रेसले आइतबारको संसद बैठकमा कम्युनिस्ट सरकारलाई अधिनायकवादी, भ्रष्ट, शान्ति सुरक्षा दिन नसकेको, महँगी बढाएको, अनियमितता गरेको लगायतको आरोप लगाएको थियो ।

नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीलाई चिकित्सा क्षेत्रको सुधारका लागि अनशन बसेको ‘जोगी’भन्दै दुई तिहाइको सरकारले सुतेको ‘जोगी’लाई उठाएको बताएका थिए ।

नेपाली कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका विषयमा पनि सरकारको आलोचना गरेको थियो । डा.केसीको माग पूरा गर्नुभन्दा पनि ‘मार्सीमोहन’लाई दुई तिहाइको बहुमतले साथ दिएको भनेर कांग्रेसका युवा नेता तथा सांसद थापाले कम्युनिस्ट सरकारको आलोचना गरेका थिए ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदबाट लगाएको आरोपहरू झूठ रहेको कम्युनिस्ट सरकारले उल्लेख गरेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कांग्रेसले लगाएको आरोपहरूमा कुनै दम नरहेको बताएका छन् । रिमालले सरकारले धेरै राम्रा काम गरेको भन्दै कांग्रेसलाई ती कामहरू नपचेको दाबी गरे ।

रिमालले सरकारका कामको आलोचना गर्नु प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको धर्म रहेको बताएका छन् । ‘कांग्रेसलाई यो सरकारले गरेका कामहरू चित्त बुझेको छैन’, नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, ‘कांग्रेससँग एजेण्डा छैन । सरकारको आलोचना गर्नेभन्दा केही जानेको छैन ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई धेरै नियन्त्रण गरेको उनले दाबी गरे । ‘शान्ति सुरक्षा बनेको छ । भ्रष्टाचार नियन्त्रण हुँदै गएको छ’, रिमालले भने, ‘कांग्रेसले भने जस्तो केही छैन ।’

नेपाली कांग्रेसको सोमबारको प्रदर्शनका बारेमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘लोकतन्त्रमा प्रदर्शन गर्न पाइन्छ । उहाँहरूले प्रदर्शन गर्नु हुन्छ । यसमा सरकारले केही भन्दैन ।’

Published : Monday, 2019 February 4, 11:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया