ओली-प्रचण्ड थोत्रो ट्याम्पोका ड्राइभर हुन्, हुतिहारा हुन्ः रामहरि खतिवडा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले खड्गप्रसाद ओली र पुष्पकमल दाहालहरु टेम्पुका ड्राइभर भएको टिप्पणी गरेका छन् ।

तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङमा नेपाली कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध सोमबार गरेको विरोध प्रदर्शनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले ओली र दाहाललाई ट्याक्टर पनि चलाउन नजान्ने ड्राइभरको संज्ञा दिए ।

‘ओलीजीले आफू र पुष्पकमल दाहालजी जहाज चलाउने दुइटा पाइलट हौँ भन्नुभएको थियो । उहाँहरु टेम्पोको ड्राइभर हो । ट्याक्टर चलाउन नजान्नेले देश कसरी चलाउन सक्छ ?’, उनले भने, ‘ओली र दाहाल एउटै ट्याप्पुका दुइटा ड्राइभर हुन् । एउटा ट्याक्टर चलाउन नसक्ने जाहाज चलाउन सक्दैनन् । हुतिहारा हुन् ।’

ओली नेतृत्वको कम्युनिस्ट सरकारले भ्रष्टाचारी, तस्कर र अपराधिहरुलाई संरक्षण गरेको आरोप लगाएका कांग्रेसका युवा नेता खतिवडाले भने, ‘ओलीको सरकारले भ्रष्ट र तस्करलाई संरक्षण गरेको छ । निर्मला पन्तका हत्याराहरुलाई संरक्षण गरेको छ ।’

ठेकेदारहरुलाई कारबाही गर्ने भनेर धम्काएको प्रशंग कोट्याउँदै खतिवडाले भने, ‘यो सरकारले मार्सी चामललाई सम्मान गरेको छ । मार्सी चामल खुवाउनेलाई काम गरिएको छ ।’

जनताले विश्वास गरेर दुई तिहाइको बहुमत दिएको कम्युनिस्ट सरकारले भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनले आरोप लगाए । ‘वाइड बडी जहाज खरिद प्रकरणमा कम्युनिस्ट सरकारले चार सय ३२ करोड भ्रष्टाचार गरेको छ । ओलीले अगाडि पछाडि भ्रष्टहरुलाई राख्नुभएको छ’, उनले भने, ‘कम्युनिस्टहरुले अर्काको शरीरको जुम्रा देख्छन्, आफ्नो शरीरको भैँसी नदेख्ने ? वाइड बडी काण्डमा नेपाली कांग्रेसका नेताहरु पनि मुछिन्छन् भने कारबाही हुनुपर्छ ।’

नेपाली कांग्रेसले नै देशको विकास गरेको उनको भनाइ छ । ‘कांग्रेसले देशमा टेलिफोन ल्यायो, पानीट्यांकी बनायो, शिक्षा, स्वास्थ्यमा क्रान्ति गर्‍यो’, उनले भने, ‘टावर जलाउनेहरु, पानीट्यांकी भत्काउनेहरुलाई राम्रो भन्छन् । देशको विकास गर्ने कांग्रेसलाई नराम्रो भन्छन् ।’ मान्छे झुण्डाएर हत्या गर्नेहरुले देशलाई झन् बिगार्दै लगेको खतिवडाले बताए । ‘माओवादीको सबैभन्दा ठूलो आलोचक ओलीजी हुनुहुन्थ्यो । माओवादीलाई बाँदर भन्नु हुन्थ्यो । अहिले ठ्याक्कै मिल्नुभएको छ’, उनले भने, ‘पानीजहाज र रेलको कुरा गर्ने ओजीजी सक्नु हुन्छ भने तपाई जन्मिए आठराई रहेको जिल्ला तेह्रथुममा बाटो पिच गरेर देखाउनुस् ।’

नेपाली कांग्रेसले गरेका राम्रा कामलाई कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओजीले काटिदिएको खतिवडाले बताए । ‘कांग्रेसले क्यान्सर पीडितलाई पाँच हजार भत्ता दिने निर्णय गरेको थियो । ओलीजीले काटिदिनुभयो । ६५ वर्ष पुगेकालाई दुई हजार भत्ता दिने निर्णय पनि ओलीले काट्नुभयो । भूकम्पपीडितलाई एक लाख दिने निर्णय पनि ओलीजीले कटौती गरिदिनुभयो’, उनले भने, ‘यो कम्युनिस्ट सरकार संविधान विपरीत चलेकाले बाध्य भएर कांग्रेसले सडक र सदनमा आन्दोलन गरेको हो ।’ उनले ओलीले संविधान मिच्ने काम गरेको बताए । संविधानको प्रावधान विपरीत ओलीले सभामुख र उपसभामुख एउटै पार्टीको बनाएको उनले बताए ।

निर्मला पन्तका बलत्कारी र हत्यारालाई कम्युनिस्ट सरकारले संरक्षण गरेको उनको आरोप छ । ‘प्रकाश दाहालको मृत्यु भएको छ । सीता दाहाल विक्षिप्त हुनुहुन्छ’, कांग्रेस नेता खतिवडाले भने, ‘प्रकाश दाहालको मृत्यु हुँदा प्रचण्ड र सीता दाहाललाई जति पीडा भएको छ । त्यति नै पीडा निर्मला पन्तको बुबाआमालाई भएको छ ।’

कम्युनिस्ट सरकारका मन्त्रीहरु सरकारी क्वाटरमा बसेर भाडा लिएर भ्रष्टाचार गरिरहेको उनले आरोप लगाए । ‘साइकल मन्त्री निर्वाचनका बेला पैसा छैन भन्नुभयो । निर्वाचन जितेको अर्को दिन श्रीमतीको नाममा ५५ लाख लाख भेटियो । विवाह गर्दा सिन्दुरपोते पनि अरुले किन्नुपर्ने । तर, पत्नीको नाममा दाइजो भने ल्याउने ?’, खतिवडाले भने, ‘कम्युनिस्ट नेता र जनप्रतिनिधिहरुले विकास निर्माणका योजना पारिदिएको बहानामा पाँच प्रतिशत कमिशन लिने गरेका छन् । यस्तो कार्यले गाउँ, जिल्ला र देशको विकास हुँदैन ।’

कांग्रेसका नेता खतिवडाले दक्षिण कोरियाका मुनको ‘गौत’ खान प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादा भुलको समेत आरोप लगाए । ‘मुनको गौत खान हाम्रा प्रधानमन्त्री एक लाखका लागि होटलमा ३ दिनसम्म बास बसेका छन् । हाम्रो बेइज्जत गरेका छन्’, उनले भने ।

Published : Monday, 2019 February 4, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया