दाङमा कांग्रेसको प्रदर्शनले पोखरेल र महरालाई तनाब (तस्वीर)

घोराही । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध दाङको घोराहीमा भव्य प्रदर्शन गरेको छ ।

कांग्रेसको घोराहीको प्रदर्शनले कम्युनिस्टहरूको मनमा चिसो पसेको छ । निर्वाचनका बेला दङ्गाली जनताहरूलाई लोभलाच देखाएर भोट तोनेर विजयी भएका कम्युनिस्टहरूले दाङका जनताले फेरि कांग्रेसलाई साथ दिएको विश्षलेषण गरेका छन् ।

सोमबार दाङमा नेपाली कांग्रेसले शक्तिदेखेपछि नेकपाका स्थायी समिति सदस्य एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र पूर्वमाओवादी नेता एवम् सभामुख कृष्णबहादुर महरालाई तनाब भएको छ । कांग्रेसका नेताहरूले दाङका जनतालाई झुक्याएर विजयी भएका कम्युनिस्टहरूले कांग्रेसको शक्ति देखेर तर्सिएको आरोप लगाएका छन् ।

घोराहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सयौंको संख्यामा कम्युनिस्ट सरकार विरोधी नारावाजी गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरूले घोराही बजार परिक्रमा गरेका थिए ।

कम्युनिस्ट सरकार विरोधी प्रदर्शनको नेतृत्व नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य दीपक गिरी, प्रदेश सांसदहरू डिल्लीबहादुर चौधरी र अर्जुन श्रेष्ठ, जिल्ला सभापति कीर्तिबहादुर खड्का, युवा नेताहरू राजु खनाल, योगेन्द्र चौधरी, सुशीला चौधरी, कमलकिशोर घिमिरे, देविका नेपाली, बालिका लम्साल नेपाल, लक्ष्मी थापा न्यौपाने, पुष्पा श्रेष्ठ, जानकीलाल बस्नेत, शंकर डाँगी, भेषराज पाण्डेलगायतले नेतृत्व गरेका थिए ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्याय नपाएको र डा.गोविन्द केसीसंग गरेको सहमति अक्षरंसपालना गर्नुको साटो हालै पारित गरेको चिकित्सा शिक्षा विधेयकको कुरालाई विरोध र्‍याली र विरोध सभामा उठाइएको थियो ।

कांग्रेसका कार्यकर्ता र नेताहरूले नाराबाजी गर्ने क्रममा ३३ किलो सुनकाण्डका ठूला माछा पक्राउ नपरेको, वाइड बडी प्रकरणका भ्रष्टचारीलाई चोख्याउन खोजेको जस्ता नारा घन्काएका थिए ।

विरोध र्‍यालीमा सहभागी कांग्रेसका नेता कार्यकर्ताले प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध चर्का नारा लगाएका थिए ।

कांग्रेसका कार्यकर्ताले केपी ओली मुर्दावाद, असक्षम केपी ओली चाहिँदैन, केपी तिम्रो पाराले दुःख पाए साराले, चर्को मूल्य वृद्धि फिर्ता गर जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।

प्रदर्शनमा प्रदेश ५ को राजधानी दाङलाई तोक्न पनि कांग्रेसका कार्यकर्ता र नेताहरूले माग गरेका थिए ।

   

Published : Tuesday, 2019 February 5, 8:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया