योगेश भट्टराईकी पत्नी र मन्त्रीका भतिजा मालामाल

काठमाडौं । राष्ट्रिय चिकित्सा विधेयक पारित गराउन ठूलो भूमिका खेलेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् सांसद योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेलाई नेपाल नर्सिङ परिषदको रिजास्टारमा नियुक्ति गरेको खुलासा भएको छ ।

नर्सिङ कलेजहरुको नियमन गर्ने निकाय नेपाल नर्सिङ परिषदमा छ महिना अगाडि सांसद भट्टराईकी श्रीमतीले नियुक्ति पाएको स्रोतले जनाएको छ ।

चिकित्सा शिक्षाका नर्सिङ कार्यक्रममा विकृति फस्टाइरहेका बेला विश्वविद्यालय र नर्सिङ परिषदमा सत्तारूढ दलका प्रभावशाली नेताहरूका नातेदार नियुक्त भएका छन् ।

सिटिइभिटी तथा विश्वविद्यालयका कार्यक्रममा सबैभन्दा बढी विकृति मौलाएको संस्था पूर्वाञ्चल विश्वविद्यालय र नर्सिङ परिषद मानिन्छ । परिषदमा पन्ध्र सदस्यीय बोर्ड गठन हुने गरेको छ ।

भट्टराईकी श्रीमती स्वास्थ्य सेवा विभागका महानिर्देशकको सिफारिसमा चार वर्षअघि परिषद सदस्य बनेकी थिइन् । यो कार्यकाल नसकिँदै उनी छ महिना अघि रजिष्ट्रार नियुक्त भएकी हुन् । परिषद भन्दाअघि उनी त्रिवि शिक्षण अस्पतालमा नर्स थिइन् ।

२०७१ सालमा खगराज अधिकारी हुँदा उनी परिषद सदस्य सिफारिस भएकी थिइन् ।

परिषद विश्वविद्यालय तथा सिटिइभिटीका नर्सिङ कलेजको कार्यक्रमको सिट निर्धारण गर्ने संस्था हो। यही परिषद मातहत सिटिइभिटीका १८९ कलेज छन् ।

यीमध्ये ६० वटा कलेजको आफ्नो अस्पताल छैन, बिनामापदण्ड चलेका छन् । ८४ वटा कलेजको मापदण्ड पुगेको छैन ।

सिटिइभिटी वा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नर्सिङ कलेजहरूको नियामक निकाय परिषदले भने त्यस्ता कलेजलाई कारबाही हैन, आंशिक अनुमति दिइरहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ३५ वटा नर्सिङ कलेज छन्, अधिकांशको आफ्नै अस्पताल छैन। २१ वटाको आफ्नो अस्पताल छैन । ९ वटा कलेजको अस्पताल छ, तर मापदण्ड पालना भएको छैन ।

कम्युनिस्ट सरकारका शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल डिनमा आफ्नै भतिजा नियुक्त गरेका छन् ।

विश्वविद्यालयले गत असोज १ गते शिक्षामन्त्रीका भतिजा शैलेशमणि पोखरेललाई मेडिकल डिन नियुक्त गरेको स्रोतले जनाएको छ । उपकुलपति घनश्यामलाल दासको एकल निर्णयबाट पोखरेल डिन नियुक्त भएका हुन् ।

पोखरेल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत थिए । मन्त्री पोखरेलले भर्खरै सहप्राध्यापक भएका भतिजालाई नियुक्त गर्न उपकुलपति दासलाई निकै दबाब दिएको दासनिकट स्रोतले जनाएको छ ।

डिन नियुक्ति सहप्राध्यापक वा प्राध्यापक भएकामध्येबाट गरिने नियम छ । यसमा विश्वविद्यालयभित्रै वा बाहिरका व्यक्तिको खोजी गरिन्छ । भित्र वा बाहिरबाट जो ल्याए पनि उपकुलपतिभन्दा मन्त्रीको भूमिका निर्णायक हुने गरेको छ ।

यसअघि मेडिकल डिनमा बिपी प्रतिष्ठानकै सिद्धार्थ कोइराला नियुक्त भएका थिए । उनको कार्यकाल पूरा भएपछि डिन पद खाली भएको थियो ।

Published : Saturday, 2019 February 9, 4:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया