ओलीद्वारा ‘जनयुद्ध दिवस’ बहिष्कार, प्रचण्डको कार्यक्रमको रुप बिग्रियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन १ गते मनाउन लागेको ‘जनयुद्ध दिवस’ अर्थात ‘जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जलि सभा’मा प्रधानमान्त्री खड्गप्रसाद ओली सहभागी नहुने भएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा फागुन १ गते हुने कार्यक्रममा सहभागी नहुने उच्च स्रोतले जनाएको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि पहिलो पटक जनयुद्ध दिवस मनाउने तयारीमा नेकपा रहेको छ ।

पत्रकारहरूलाई पठाइएको निमन्त्रणा पत्रमा नेकपाले कार्यक्रमको प्रमुख अतिथि दोस्रो तहका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ हुने जनाइएको छ ।

कार्यक्रममा अध्यक्ष एवम् प्रधानमन्त्री ओली आउनेबारेमा कुनै पनि कुरा उल्लेख छैन ।

त्यति मात्रै होइन ओलीले जनयुद्ध दिवस मात्रै मनाउन अस्वीकार गरिदिएका छन् । माओवादीको ‘जनयुद्ध’को अगाडि ‘जनआन्दोलन’ शब्द थपिदिएका छन् । फागुन १ गते हुन लागेको कार्यक्रममा एमाले पृष्ठभूमि भएका नेताहरू हाबी भएको स्रोतले जनाएको छ ।

प्रचण्डले शान्ति प्रक्रियामा आउन अगाडि र शान्ति प्रक्रियामा आइसकेपछि पनि ‘जनयुद्ध दिवस’ भनेर मनाउँदै आएका थिए । तर, यस पटक प्रचण्डले आफूलाई पूरै ‘जनयुद्धि दिवस’बाट ढालेर ‘जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जलि’ भनेर कार्यक्रम गर्न लागेका छन् ।

त्यो कार्यक्रममा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री ओली नै सहभागी नहुने भएपछि कार्यक्रमप्रति विभिन्न खालका टिकाटिप्पणी भएका छन् ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पनि जनयुद्ध दिवसका बारेमा प्रस्ट्याउँदै फागुन १ गतेको कार्यक्रम ‘जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जलि कार्यक्रम’ राखिएको जनाएका छन् ।

‘फागुन १ गते बुधबार नेकपाले आयोजना गर्ने कार्यक्रमको नाम ‘जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जलि कार्यक्रम’ राखिएको छ’, रिमालले भनेका छन् ।

‘पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कायालयद्वारा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जलि’ कार्यक्रम हुने भएकोले निम्न मिति, समय र स्थानमा उपस्थित भई समाचार संकलन एवम् सम्पे्रषणका लागि यहाँलाई हार्दिक निमन्त्रणा गरिन्छ’, निमन्त्रणा पत्रमा भनिएको छ ।

जनआन्दोलन र जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बुधबार दिउँसो साढे १० बजे नेकपाको पार्टी मुख्यालय धुम्बारहीमा विशेष कार्यक्रम हुँदै छ ।

नेकपाभित्र एमाले पृष्ठभूमि भएका नेताहरूसँग माओवादी पृष्ठभूमि भएका नेताहरूको हार भएको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन् ।

एमाले पृष्ठभूमि भएका नेताहरूले ‘जनयुद्ध दिवस’ होइन भन्ने खालका स्टाटस लेखेर सामाजिक सञ्जाल रंगाएका छन् ।

Published : Tuesday, 2019 February 12, 6:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया