पूर्वएमालेहरूलाई मन परेन जनयुद्ध दिवस, एक्लिए प्रचण्ड र माओवादीहरू

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापा ‘जनयुद्ध’का विषयमा विमती राखेका छन् । थापाले बुधबार बिहान फेसबुकमा स्टाटस लेखेर जनयुद्धले मान्यता नपाएको बताएका हुन् । नेकपाका केन्द्रीय सदस्य थापाको अभिव्यक्तिले पूर्वमाआवादीहरूलाई झट्का लागेको छ ।

थापाले शहीद दिवस वा जनआन्दोलन दिवस मनाइएजस्तो होइन भनेका छन् । ‘आमूल परिवर्तनको प्रक्रियामा २०५२–२०६२ को अवधिमा संचालित सशस्त्र संघर्ष खासमा जनयुद्ध थियो कि थिएन ? विवाद र बहस जारी नै छ’, उनले भनेका छन्, ‘यसका बहुआयामिक सकारात्मक, नकारात्मक प्रभाव, सन्दर्भ र आयामहरू छन् ।’

उनले भनेका छन्, ‘१७ हजार नेपालीका लागि यो मृत्यु बनेर आयो । त्यसैले उनीहरूका लागि यो जनयुद्ध नभएर काल पो बनिदियो । देशको खर्बाैखर्बका भौतिक संरचना ध्वस्त पारियो र नयाँ निर्माण हुन दिइएन ।’

‘फलतः देश नै ५० वर्ष पछाडि धकेलिन पुग्यो । यस हिसाबले यो जनयुद्ध नभएर नेपालको सर्वविनाश थियो । नेपाली राजनीतिमा यो हिंसाको अर्काे प्रयोग अवश्य थियो, २००७ र २०२८ साल जस्तै । तथापि विभिन्न कालखण्डमा देशभित्र र बाहिरका आफैले प्रमुख दुश्मन घोषित गरेका पक्षहरूले पनि यसलाई सघाए, किन ? यस्ता धेरै प्रश्नहरू अनुत्तरित नै छन्’, नेकपाका केन्द्रीय सदस्य थापाले भनेका छन् ।

थापा एमाले पृष्ठभूमि भएका नेता हुन् । एमाले पृष्ठभूमि भएका नेताहरूले माओवादीको जनयुद्धलाई मन पराएका छैनन् ।

‘जनयुद्ध’ सफलता वा विजयमा टुंगिएको नभएर संझौता र शान्तिपूर्ण अवतरणमा टुंगिएको विदितै रहेको उनले बताएका छन् ।

‘यस प्रक्रियामा राष्ट्रको २० खर्बभन्दा बढी रकम खर्चिनुपरेको जगजाहेर छ । संविधानसभा, लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनयुद्धका घोषित लक्ष्य थिएनन्’, उनले भनेका छन्, ‘यी त समयक्रममा थपिएका वा स्वीकारिएका सशस्त्र हिंसाको अवतरणका माध्यम, निकास वा सहउत्पादन मात्रै बन्न पुगेको स्पष्टै छ । यथार्थमा ‘जनयुद्ध’ कुति पुग्न थालिएको थियो, दश वर्षको संचालनमा काशी–बनारस पुगेर समापन भयो ।’

‘जबकि ‘जनयुद्ध’को घोषित लक्ष्य नौलो जनवादको स्थापना गर्ने थियो । चिनियाँ जनयुद्ध तियान मेन स्क्वायरमा क्रान्तिको सफलतामा टुंगिएको जस्तो यहाँ भएको त किमार्थ होइन’, थााले भनेका छन्, ‘ताकि हरेक वर्ष जनयुद्ध दिवस मनाइयोस् वा मनाउन परोस् ! यो स्वयंमा पेरू, थाइल्याण्ड, मलेसिया र नक्सलवाडी आन्दोलनमा जस्तै असफल र सर्वविनाश नहोस् भनेर शान्तिपूर्ण र प्रतिस्पर्धात्मक बाटोमा फर्काउँदै घुमिफिरी रूम्जाटार भनेजस्तो नजिते पनि र नहारे पनि वा पराजयको घोषणा नगरेरै अवतरण भयो र गरियो । बरू यसको मौलिकता यो रहन पुग्यो ।’

‘नेपालमा भएका विगत परिवर्तनमा जनयुद्धको उल्लेखनीय योगदान अवश्य छ । जसलाई आत्मसात् गरिएको छ । खासमा २४० वर्ष पुरानो राजतन्त्रको उन्मूलन तत्कालीन सात राजनीतिक दलको बुँदामा मात्रै संभव भएको होइन’, थााले भनेका छन्, ‘संविधानसभा, संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्र त न सात दलका न त माओवादी जनयुद्धका आफ्नै र मौलिक एजेन्डा नै थिए, बरू राजनीतिक निकासको खोजी गर्ने सिलसिलामा दुबै पक्षको साझा मिलनबिन्दु बन्नचाहिँ आइपुगेका थिए वा ल्याइएका थिए ।’

उनले भनेका छन्, ‘२०७५ साल जेठ ३ गतेको पार्टी एकताका क्रममा विगत संघर्षहरूको सकारात्मक योगदान स्वीकारिएकै छ । तर, जनयुद्ध थालनीको दिनलाई शहीद दिवस वा जनयुद्ध दिवसका रूपमा मनाउने निर्देशन छापामार शैलीमा किन आयो ? किन यसो गर्न मन लाग्यो ?’

उनले भनेका छन, ‘जनयुद्धमा चोखो मनले लागेर लडेका, बलिदान दिएका, आफन्त गुमाएका, प्रियजन बेपत्ता पारिएका, अंगभंग बनेका, सम्पत्ति र अस्मिता लुटिएका, अपहरण र विस्थापित गरिएका, अनि जीवन र परिवार नै तबाह पारेका एवं मृत्युलाई जितेर नाफाको जिन्दगी बाँचिरहेका सबैप्रति उच्च सम्मान छ र, त्यसो गर्नैपर्छ ।’

‘जनयुद्धको जगमा टेकेर उभिदै युद्धकालमा लुटपाट मच्चाएका, देश र जनताको होइन, आफ्नो, परिवार र आसेपासेको वर्गाेत्थान गरेका एवं व्यक्तिगत जीवनमा साम्यवाद नै हासिल गरिसकेर समाजमा ‘राता मण्डले’ जस्तो बदनाम हुन पुगेका कतिपय व्यक्तिहरूको सम्बन्धमा त के भन्नु र खोई ? यो तिनीहरूका लागि भने सच्चा जनयुद्ध बनिदियो’, थापाले भनेका छन् ।

उनले शान्ति प्रक्रियाका बाँकी काम सत्य निरूपण र मेलमिलाप आयोगमार्फत अविलम्ब पूरा गरी सशस्त्र हिंसाका छायाँ र प्रतिछायाँसहित यो विगतलाई सबैले अब बिर्सन दिनुपर्दछ भनेका छन् । यसका सकारात्मक उपलब्धिहरू त संस्थागत गरिएकै छ ।

‘युद्ध लडेकाहरूले नकारात्मक अनुभवलाई पनि सकारात्मक भनेर महिमागान गर्ने, संस्मरण लेख्ने, तस्बिरहरू छाप्ने गर्न मिलिहाल्छ, त्यसो गर्ने अधिकार छँदैछ । तर, हामीजस्ता त्यस जनयुद्धको ऐतिहासिक अपरिहार्यता नै थियो भनेर मान्न नसकेका र सन् १९६५ पछि संसारभर सशस्त्र संघर्षबाट कुनै देशमा पनि क्रान्ति सफल भएको छैन भनिकन हिंसाको निरर्थकताको पैरवी गर्नेहरूलाई जनयुद्ध दिवस बाध्यात्मक ऐंठनका रूपमा थोपरिनु उचित हो त ? के यो पार्टी एकताको उपहार हो ? बहस छलफल चलाएर निचोडमा पुग्न आवश्यक भयो’, उनले भनेका छन् ।

Published : Wednesday, 2019 February 13, 11:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया