प्रचण्डको कार्यक्रममा ओली र पूर्वएमालेका ठूला नेताहरू आएनन्, माओवादीहरू मलिन

काठमाडौं । पूर्वमाओवादी नेता समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का दोस्रो तहका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले आफ्ना सीमित नेता तथा कार्यकर्ताहरूसँग जनआन्दोलन र जनयुद्धका शहीदहरूको श्रद्धाञ्जलि सभा कार्यक्रम गरेर मनाएका छन् ।

पूर्वएमालेको पार्टी मुख्यालय रहेको धुम्बाराहीको पार्टी कार्यालयको कोठामा प्रचण्डले बुधबार श्रद्धाञ्जलि सभा कार्यक्रम गरेका हुन् । कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली आएनन् ।

ओलीले आफू नआएपनि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल र युवराज ज्ञवालीलाई कार्यक्रममा पठाएका थिए । एमाले पृष्ठभूमि भएका अरु ठूला नेताहरू कार्यक्रममा सहभागी थिएनन् ।

मञ्जमा गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री एवम् प्रचण्डकी बुहारी बिना मगर, नेता टोपबहादुर रायमाझी, नेतृ पम्फा भुसाल, नेता दीनानाथ शर्मा लगायतका नेताहरूको मात्रै सहभागिता रहेको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, घनश्याम भुसाल जस्ता नेताहरू कार्यक्रममा गएका थिएनन् ।

मञ्चभन्दा तल सर्वसाधारण बस्ने कुर्सीहरूमा पनि एमाले पृष्ठभूमिका कार्यकर्ताभन्दा पनि माओवादी पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताहरूको मात्रै सहभागिता रहेको एक नेताले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै दोस्रो तहका अध्यक्ष प्रचण्डले ओली कार्यक्रममा नआउनुका विषयमा पनि जानकारी गराएका थिए । ‘सरकार गठन भएको एक वर्ष भएको छ । त्यसको समीक्षा गर्नुपर्ने भएकाले प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी ओली आउन सक्नु भएन’, उनले भने, ‘ओलीजीसँगको सल्लाहमै कार्यक्रम राखिएको हो ।’

कार्यक्रममा ओली नआएको विषयलाई माओवादी र एमालेबीच फुट पैदा गर्नेहरूले भ्रम सिर्जना गरेको प्रचण्डले आरोप पनि लगाए ।

प्रचण्डले सधै मनाउँदै आएको कथित जनयुद्ध दिवसको नाम परिवर्तन गरेर जनआन्दोलन र जनयुद्धका शहीदहरूको श्रद्धाञ्जलि सभा कार्यक्रम भनेर मनाएका छन् । एमालेसँग माओवादीको एकीकरण भएसँग प्रचण्डले यस पटकदेखि जनयुद्ध दिवस भन्ने शब्दावली पनि छाडेका छन् ।

Published : Wednesday, 2019 February 13, 12:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया