ओली–प्रचण्डका विद्यार्थी नेताहरूले काठमाडौंमा भेटे टाउको फुट्ने गरी कुटाइ

काठमाडौं । काठमाडौंको रविभवनस्थित कलेजमा संगठन निर्माणका लागि पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका अनेरास्ववियुका विद्यार्थीलाई कलेजका विद्यार्थीले कुटपिट गरेर लखेटेका छन् ।

तत्कालीन माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव डीबी साउद तथा पूर्वएमाले निकटको अनेरास्ववियु उपत्यका इञ्चार्ज नारायण घर्ती र केन्द्रीय सदस्य सागर भट्टलगायतका विद्यार्थी नेताहरू बिहीबार बिहान करीव ८ बजे दलबलसहित ‘नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान’मा प्रवेश गरेका थिए ।

विद्यार्थीको पठन पाठन प्रभावित बनाएर अनेरास्ववियुको संगठन निर्माण गर्न खोजेपछि कलेजका विद्यार्थीले प्रतिकार गरेर अनेरास्ववियुका नेताहरूलाई लखेटेका हुन् ।

कलेजका विद्यार्थीले अनेरास्ववियुका नेताहरू चढेको मोटरसाइकलमा तोडफोड गर्नुका साथै कलेजबाट भगाएका थिए ।

सत्ताको आडमा अनेरास्ववियुका विद्यार्थी नेताहरूले थप विद्यार्थी नेताहरूलाई बोलाएर पुनः कलेजमा प्रवेश गर्न खोजेपछि प्रतिकार स्वरुप ढुंगा र इट्टा प्रहार गरेर लखेटेको कलेजका एकजना विद्यार्थी नेताले रिपब्लिका दैनिकलाई जानकारी दिएका छन् ।

कलेजभित्र प्रवेश गरेका अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई कलेजकै विद्यार्थीले ढुंगा र इट्टा प्रहार गरेर लखेटेको कालिमाटी प्रहरीका प्रमुख डिएसपी देवेन्द्रबहादुर पालले जानकारी दिए ।

‘अनेरास्ववियुका विद्यार्थी नेताहरू कलेजमा बिहान करीव ८ बजेतिर संगठन निर्माणका लागि जानु भएको रहेछ । कलेजका विद्यार्थीले मोटरसाइकलमा तोडफोड गरेर लखेटेका रहेछन्’, डिएसपी पालले भने, ‘पछि अनेरास्ववियुका अरु विद्यार्थी आएर कलेजमा प्रवेश गर्न खोज्दा कलेजभित्रका विद्यार्थी र अनेरास्ववियुका विद्यार्थीबीच ढुंगा–इट्टा प्रहार गरी झडप भएको थियो ।’

झडपमा सत्तारुढ अनेरास्ववियुका तीनजना विद्यार्थी नेताहरू घाइते भएको डिएसपी पालले रिपब्लिका दैनिकलाई जानकारी दिएका छन् ।

झडपमा परेर अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव डीबी साउद र पूर्वएमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य सागर भट्टलाई चोट लागेको छ । एकजनाको टाउकोमा टाँका लगाइएको छ ।

पूर्वएमाले निकटको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्र निकटको अनेरास्ववियु (क्रान्तिकारी)ले शैक्षिक माफियाहरूले मान्छे लगाएर आफूहरूमाथि आक्रमण गरेको दाबी गरेका छन् ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको एक वर्षको कामबारे प्रचार प्रसार गरिरहेका बेला विद्यार्थी नेताहरूले काठमाडौंभित्रै कुटाइ खाएका छन् ।

Published : Thursday, 2019 February 14, 7:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया