‘गुण्डा शैली’मा उत्रिएका कम्युनिष्ट पार्टीका सांसदहरू, कोठाभित्रै भक्कुराभक्कुर

जनकपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश २ का सांसद सत्यनारायण मण्डलसहितका सांसदहरूले अराजकता प्रदर्शन गर्दै प्रदेश सभामुख सरोज यादवलाई हातपात गरेका छन् ।

बिहीबार प्रदेश २ को सार्वजनिक लेखा समितिको सभापति पदमा उम्मेदवारी दिएको विषयमा संसदीय दलका नेता मण्डलले सभामुख सरोज यादवमाथि कार्यकक्षमै हातपात गरेका हुन् ।

मण्डलसहितका सांसदहरू हातपात गर्न थालेपछि कार्यकक्षमा रहेका अन्य सांसद र मर्यादापालकहरूले छुट्याएका थिए ।

पूर्वसहमतिअनुसार नेकपाले लेखा समितिको अध्यक्ष पाएको थियो । लेखा समितिमा नेकपाको संस्थापन समूहले भरत साहलाई अगाडि अगाडि बढाएको थियो ।

भरत साहले नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको समर्थन पाएनन् । आफ्ना दलका सांसदहरूको समर्थन र प्रस्तावमा लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए ।

नेकपाकै सांसद शत्रुधन महतोले विद्रोह गरी कांग्रेस र संघीय समाजवादी फोरम नेपालको समर्थनमा लेखाको सभापतिमा उम्मेदवारी दर्ता गराएको विषयमा विवाद र भनाभन हुँदा सभामुख सरोज यादवमाथि मण्डलले हातपात गरेको स्रोतले जनाएको छ ।

दलबलसहित सभामुखको कार्यकक्षमा पुगेका मण्डलले टेबुल ठोक्नुका साथै सभामुख सरोज यादवलाई शत्रुधन महतोको उम्मेदवारी खारेज गर्न दवाव दिँदै हातपात गरेका हुन् । त्यति मात्रै होइन नेकपाका नेता मण्डलले कांग्रेसले नेकपालाई विभाजन गर्न खोजेको भनेर आरोप समेत लगाए ।

कार्यालय समयभित्रै शत्रुधन महतोको पक्षबाट कांग्रेसका प्रदेश सांसद नरेश यादवले उम्मेदवारी दर्ता गराएका थिए ।

नेकपाका आधिकारिक उम्मेदवार भरत साहलाई नेकपाकै सांसद लगनलाला चौधरी र रामकुमार यादवले प्रस्ताव र समर्थक मात्रै गरेका छन् । कुनै पनि पार्टीले समर्थन गरेका छैनन् ।

भरत साहले आफ्नै पार्टीका विद्रोही उम्मेदवार शत्रुधन महतोको उम्मेदवारी पत्र नरेश यादवको हातबाट खोसेर च्यातिदिएपछि विवाद भएको थियो ।

प्रदेश २ मा नेकपाका ३२ सांसद, कांग्रेसका १९, संघीय फोरमका ३०, राजपा नेपालका २५ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी फोरमका एक जना सांसद छन् ।

यसैबीच, प्रदेश २ को प्रदेश सभाका विभिन्न पाँच समितिका सभापतिहरू निर्विरोध भएका छन् ।

निर्विरोध हुनेमा मनीषकुमार सुमन (अर्थ तथा योजना समिति), जयनुल राईन (महिला बालबालिका तथा समाजिक न्याय समिति), अशोक यादव (प्रदेश मामिला समिति), बीरेन्द्र सिंह (कृषि तथा भूमि व्यवस्थापन समिति) र शेख अबुल कलाम (विकास समिति) रहेका छन् ।

Published : Friday, 2019 February 15, 12:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया