कांग्रेसको नर्सरीको नालिबेली, को–को बने सभापति ?

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ) महत्वपूर्ण भातृ संगठन हो । कांग्रेसको सभापतिदेखि अधिकांस केन्द्रीय सदस्यहरू नेविसंघको राजनीतिबाट आएका हुन् ।

०२७ सालमा स्थापना भएको नेविसंघ नैनसिंह महरको नेतृत्वकालसम्म आइपुग्दा छियाछिया बन्न पुगेको छ । विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर नेविसंघको पहिलो सभापति भएका थिए ।

४८ वर्षसम्म आइपुग्दा १८ जनाले कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्थामा सभापति हुने मौका पाएका छन् । नेविसंघमा हालसम्म ६ निर्वाचित, पाँच सर्वसम्मत र सात सभापति तदर्थ समितिबाट छानिएका छन् ।

१८ सभापतिमध्ये एक मात्र सभापतिले समयमै अर्थात् निर्वा्चित भएको दुईवर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तातरण गरेका छन् ।

पार्टी फुट्नुअघि ०५७ सालमा आठौँ महाधिवेशनबाट सभापतिमा चुनिएका विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए । अरू कुनै पनि सभापतिले नियमित कार्यकालमा महाधिवेशन गर्न सकेनन् ।

०२८ सालमा शेरबहादुर देउवा नेविसंघको सर्वसम्मत रूपमा सभापति भएका थिए । पञ्चायती व्यवस्थाको मध्य समयको अप्ठ्यारो राजनीतिक अवस्थामा दोस्रो महाधिवेशन गराउन देउवालाई नौ वर्ष लाग्यो ।

देउवा जेल परेकाले बलबहादुर केसी कार्यबाहक सभापति बनाइएका थिए । ०३६ सालमा देउवा नेतृत्वले तेस्रो महाविधेशन गराउँदा विमलेन्द्र निधि सभापतिमा चुनिए ।

बिपी कोइरालाले सर्वसम्मत रूपमा सभापति बनाए पनि तीन वर्ष बित्दासमेत महाधिवेशन गर्न नसकेपछि विमलेन्द्र निधि बाहिरिनु परेको थियो ।

निधि बाहिरिएपछि ०३९ सालमा ज्ञानेन्द्रहादुर कार्कीको नेतृत्वमा तदर्थ समिति गठन भयो । कार्की नेतृत्वको तदर्थ समितिले ०४० सालमा गराएको चौथो महाधिवेशनबाट बलबहादुर केसी सर्वसम्मत रूपमा सभापति भए ।

केसीले चार वर्षपछि ०४४ सालमा गराएको पाँचौँ महाधिवेशनबाट बालकृष्ण खाण सर्वसम्मत रूपमा सभापति हुन पुगे । खाणले चार वर्षपछि ०४८ सालमा गराएको छैटौँ महाधिवेशनबाट एनपी साउद सभापतिमा निर्वाचित भए ।

साउदको राजीनामापछि गिरिजाप्रसाद कोइरालाले ०५३ सालमा धनराज गुरुङलाई तदर्थ समितिको सभापति बनाएका थिए ।

सभापति भएको सात महिनामै गुरुङले महाधिवेशन गराए । सातौँ महाधिवेशनबाट गोविन्द भट्टराई सर्वसम्मतिमा सभापति चुनिए ।

भट्टराईले चार वर्षपछि ०५७ सालमा आठौँ महाधिवेशन गराउँदा विश्वप्रकाश शर्मा निर्वाचित भए । शर्माले किशोरसिंह राठौरलाई पराजित गरेका हुन् ।

०५८ सालमा कांग्रेस फुटेपछि कांग्रेस प्रजातान्त्रिकबाट किशोरसिंह राठौर तदर्थ समितिका सभापति भए । उनी नेतृत्वको समितिले सोही वर्ष गराएको महाधिवेशनबाट कल्याण गुरुङ सभापतिमा चुनिए ।

निर्वाचित भएको दुई वर्षमै विश्वप्रकाश महाधिवेशन गराएर गुरु घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्न सफल भए । कल्याण गुरुङ नेविसंघको सभापति भए पनि उनलाई महाधिवेशन गराउने म्यान्डेट थिएन । उनी कांग्रेस प्रजातान्त्रिकनिकट नेविसंघको सभापति थिए ।

नेविसंघको सभापति हुनेमा विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्र कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, रञ्जित कर्ण र नैनसिंह महर सभापति बनेका छन् ।

महरले पनि ०७५ माघ २ मा समय सकिएपछि महरद्वारा राजीनामा दिएका छन् ।

Published : Saturday, 2019 February 16, 11:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया