पशुपति शर्माको गीत कम्युनिस्ट अधिनायकवादको पहिलो शिकार बन्यो, देउवाले भनेको पुष्टि

काठमाडौं । लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई कम्युनिस्ट सरकारले युट्युबबाट हटाउन दवाव दिएको खुलासा भएको छ ।

खड्गप्रसाद ओली नेतृत्वको सरकारले गीतमा प्रयोग भएका केही शब्दहरूप्रति आपत्ति जनाएपछि गायक शर्माले शनिबार साँझ आफ्नो गीतलाई युट्युबबाट हटाएका छन् । शर्माले गीतमा रहेका केही शब्दहरू हटाएर पुनः युट्युबमा राखिएने बताएका छन् ।

व्यंग्यात्मक भाव बोकेको गीत आफ्नो युट्युब च्यानलमार्फत हटाएका छन् । गीत युट्युबमा राखेको दुई दिन मात्रै भएको थियो ।

शर्माले भनेका छन्, ‘सर्वप्रथम त म यहाँहरूलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर, सुसासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु ।’

‘मेरो गीतले विसंगतीलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो’, उनले फेसबुकमार्फत भनेका छन्, ‘मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन ।’

शर्मामाले गीतमा समावेश केही शब्दहरूमा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएको भन्दै जुनजुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको बताएका छन् ।

शर्माले भनेका छन्, ‘केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरूलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।’

गायक शर्माले आफूले प्रयोग गरेको शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको भए अन्तर हृदयदेखि माफी माग्न चाहेको पनि बताएका छन् ।

‘मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु’, उनले भनेका छन्, ‘अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।’

यद्यपि देशको एक सचेत नागरिकका साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्द आवाज उठाउन पाउने आफ्नो नैसर्गिक अधिकार भएको गायक शर्माले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन अगाडि ‘कम्युनिस्टहरूले जिते भने अधिनायकवाद ल्याउँछन्, अधिनायकवाद आयो भने रुन, हाँस्न पाइँदैन’ भनेका थिए ।

देउवाले भनेको अधिनायकवादको पहिलो प्रहार गायक पशुपति शर्माको गीतमाथि भएको छ । सामाजिक सञ्जाल, प्रेसमाथि कम्युनिस्ट सरकारले नियन्त्रण गर्ने प्रयास गरिरहेका बेला गायक शर्माको गीतमाथि भौतिक रुपमा आक्रमण भएको छ ।

गीतमा राष्ट्रिपतिलाई साढे ढेड अर्बको हेलिकप्टर, १८ करोडको बिलासी गाडी, वाइड बडी काण्डका साथै कम्युनिस्ट सरकारले गरेको बेथितिका विषयमा उल्लेख गरिएका छन् । बेथितिमा राखिएका शब्दले कम्युनिस्ट सरकारलाई पोलेपछि गीतबाट ती शब्द हटाउन दवाव दिइएको शर्माले बताएका छन् ।

Published : Sunday, 2019 February 17, 8:00 am

1 प्रतिकृया प्राप्त “पशुपति शर्माको गीत कम्युनिस्ट अधिनायकवादको पहिलो शिकार बन्यो, देउवाले भनेको पुष्टि”

  • कुनैशव्द का कारण अल्तालिनु पर्ने आवस्यकता थिएन

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया