सञ्चारमन्त्री बास्कोटाको जिल्लाका वरिष्ठ नेता एवं अध्यक्ष कांग्रेसमा प्रवेश

बनेपा । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले तत्कालीन एमालेका ठूला नेतालाई पार्टीमा भित्र्याएका छन् ।

काभ्रेमा मंगलबार आयोजित जीपी कोइराला फाउण्डेसनको कार्यक्रममा डा.कोइरालाले तत्कालीन नेकपा (एमाले)को बुद्धिजीबी संगठन काभ्रेको अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शिव सिग्देललाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

कम्युनिस्ट सरकारले जनताका अधिकार खोस्ने, निर्वाचनका बेला गरिएको प्रतिवद्धता विपरितका कार्य गर्ने, नेता तथा कार्यकर्ताको भावना विपरितका क्रियाकलाप गरेको भन्दै अध्यक्ष सिग्देलले कम्युनिस्ट पार्टी परित्याग गरेको बताए । उनले कम्युनिस्टका पार्टीका नेताहरू स्वार्थमा चर्लुम्म भएको बताए ।

नेपाली कांग्रेसका नेता डा.कोइरालाले कम्युनिस्टहरू कुरा मात्रै धेरै गर्ने भन्दै उनीहरूबाट जनताले विकास र समृद्धिको कुनै आश गर्न नहुने बताए ।

‘निर्वाचनका बेला वृद्ध भत्ता बढाउनेदेखि विकास निर्माण, रोजगारी आदिको कुरा गरेका थिए’, उनले भने, ‘निर्वाचनमा जनतालाई झुक्काएर भोट लिएर जिते । एउटा वृद्ध भत्ता पनि बढाएनन् । कांग्रेससहित सबै नागरिक समाजले दवाव दिएपछि बल्ल वृद्ध भत्ता बढाउने भन्दै छन् ।’

कांग्रेसले नै सबै जनताको हक, अधिकारको रक्षा गर्ने उनको भनाइ छ । कम्युनिस्ट सरकारले अभिव्यक्ति स्वगतन्त्रतामा अंकुशलगाउन थालेको भन्दै कांग्रेसका नेता डा.कोइरालाले कम्युनिस्ट अधिनायकवाद शुरु भैसकेको बताए ।

‘कम्युनिस्टहरू दुई तिहाइको बहुमत पाएपछि निरंकुश हुन खोजेका छन् । अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गर्दै छन्’, उनले भने, ‘यसका विरुद्ध सडक र सदनबाट कांग्रेसले मुकाबिला गर्नुको बिकल्प छैन ।’ डा.कोइरालाले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध संघर्ष गर्ने बेला आइसकेको बताए ।

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको मन्त्रिमण्डलमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रहेका गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेका वरिष्ठ नेता सिग्देलले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेपछि कम्युनिस्टहरूभित्र खैलाबैला उत्पन्न भएको छ ।

Published : Tuesday, 2019 February 19, 5:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया