नेविसंघको अध्यक्षमा दर्जन नेताहरू, कसको सम्भावना बलियो ?

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को कार्यसमिति भंग भएसँगै नयाँ नेतृत्वका लागि एक दर्जन विद्यार्थी नेताहरू दौडमा देखिएका छन् ।

फागुन ९ गतेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नु अगाडि नेविसंघको अध्यक्ष बनाइसक्नु पर्छ भनेर सभापति शेरबहादुर देउवालाई दवाव छ । देउवालाई केन्द्रीय कार्यसमितिले पनि अध्यक्ष नियुक्तिका लागि अधिकार दिएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले पनि सभापति देउवालाई नेताहरूसँग परामर्श गरेर उपयुक्त निर्णय लिने जिम्मेवारी दिएको थियो । देउवाले आफू निकटका सीमित नेताहरूसँग नेविसंघको अध्यक्ष कसलाई बनाउने भनेर सामान्य कुराकानी गरे पनि ठोस निर्णय गर्न सकेका छैनन् ।

सभापति देउवाले भरत गुरुङलाई नेविसंघको अध्यक्ष बनाउने भनेर धेरै हदसम्म कुरा अगाडि बढाएका छन् । देउवाले आफू निकटका नेताहरूसँग गुरुङको प्रशंसा गर्ने गरेको स्रोतले जनाएको छ ।

नेविसंघको अध्यक्ष पद हत्याउन नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह पनि सक्रिय छ । तर, सभापति देउवाले नेविसंघको अध्यक्ष अरुलाई दिने पक्षमा छैनन् । नेविसंघको अध्यक्षका लागि देउवा समूहकै धेरै विद्यार्थी नेताहरू मैदानमा छन् ।

ऋषिकेशजंग शाह, भरत गुरुङ, राजीव ढुंगाना, पुष्पकुमार शाही, सरोज थापा, दीपक भट्टराई, आनन्द त्रिपाठी, प्रेम जोशी, सुशील भट्ट, नवराज त्रिपाठी, कृष्णकुमारी बस्नेत, कौशिला भट्ट, अम्बिका चलाउने, कुन्दनराज काफ्ले लगायतले अध्यक्ष पदको दाबी गरेका छन् । यी विद्यार्थी नेताहरूमध्ये शाहको नाम पनि अग्रपंक्तिमा छ । यद्यपि उमेर हद लागू भएमा शाह, गुरुङसहित धेरैले नेविसंघको अध्यक्ष पाउने छैनन् ।

स्रोतका अनुसार सभापति देउवाले चितनव घर भएका गुरुङलाई नै मन पराएका छन् । गुरुङ नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन् । नेविसंघको महाधिवेशन गर्नका लागि आवश्यक पर्ने ‘सामदाम, दण्डभेद’ गर्ने क्षमता राख्ने गुरुङ नेविसंघको अध्यक्षको दौडमा अग्रस्थानमा छन् ।

कांग्रेसका केन्द्रीय सस्य एवम् नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल अस्कल क्याम्पसको स्ववियु सभापति हुँदा गुरुङ अस्कल क्याम्पसको नेविसंघ ईकाइको अध्यक्ष थिए । उनै गुरुङले नै प्रदीप पौडेललाई टिकट दिएका थिए ।

Published : Wednesday, 2019 February 20, 10:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया