पारसलाई देखाएर अष्ट्रेलियामा विद्यार्थी ‘मुर्गा’ बनाउनेको यस्तो छ धन्दा

काठमाडौं । अस्ट्रेलियामा दर्ता नै नभएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी)मा सबैभन्दा बढी विद्यार्थी पठाउनेमा एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस कन्सल्टेन्सी र मर्सी एजुकेशन रहेका छन् ।

एआइबिटी कलेज खारेजीमा परेपरेसँगै १ हजारभन्दा बढी नेपाली विद्यार्थीको भविस्य अन्योलमा परेको छ । नेपालका नाम चलेका एजुकेशन कन्सल्टेन्सीहरूले नै अष्ट्रेलिया पुर्‍याएर नेपाली विद्यार्थीलाई अलपत्र पारेका हुन् ।

नर्सिङ दर्ता नै नभएको कलेजमा जानाजान विद्यार्थी पठाएर ठगी धन्दा गर्ने कन्सलटेन्सीहरूमाथि कारबाही गर्न विद्यार्थीले माग गरिरहेका छन् ।

प्रतिविद्यार्थी २० लाखका दरले शुल्क लिएर एक्स्पर्ट, मर्सी, कंगारु, एबीसी माइग्रेशन, डल्फिन, अल्फाबिटा, काठमाडौं इन्फोसिसलगायत कन्सल्टेन्सीले विद्यार्थी पठाएका थिए ।

एक्स्पर्टले त नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाई वर्षको २० लाख तिरेर ब्रान्ड एम्बेसडर बनाइ विद्यार्थीलाई आफुतिर तान्दै आएको छ ।

क्रिकेट खेलाडी खड्कालाई ब्रान्ड एम्बेसडर बनाएर ठगी गर्ने एक्स्पर्ट, अल्फा हाउस र मर्सीले सबैभन्दा बढी विद्यार्थी पठाएको खुलेको छ । अलपत्र परेका १ हजारमध्य मर्सीबाट ५ सय, एक्स्पर्टबाट २ सय र अल्फाबिटाबाट एक सय जना विद्यार्थी अस्ट्रेलिया गएको खुलेको छ ।

कन्सल्टेन्सीहरूले सरकारलाई समेत ढाँटेर विद्यार्थी विदेश पठाएको हुँदा शिक्षा मन्त्रालयले छानबिन समिति समेत गठन गरेको छ ।

विद्यार्थीले एजुकेशन कन्सल्टेन्सीको सहयोगमा ‘अफर लेटर’ बुझाउने गरेका छन् । अलपत्र परेका विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन संलग्न मन्त्रालयकै कर्मचारी पनि जिम्मेवार ठानिएका छन् ।

कलेजले नर्सिङ विषयको पठनपाठन गराउन अनुमति लिने प्रक्रिया शुरु गरेको भन्दै कन्सल्टेन्सीहरूले विद्यार्थी पठाउन सिफारिस गरेका थिए । सोही आधारमा मन्त्रालयले नो अब्जेक्सन लेटर दिएको थियो ।

नो अब्जेक्सन लेटर शाखाका तत्कालीन प्रमुख उपसचिव बालकृष्ण चापागाईं र अधिकृत तारा निरौलालाई मन्त्रालय तानिएको छ । उनीहरूलाई नै कारवाही गर्न लागिएको छ ।

एआईबीटीमा अध्ययन गर्न ४ हजार ७ सय ५४ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका छन् ।

अस्ट्रेलियास्थित नेपाली दूतावासले शिक्षा मन्त्रालयलाई यसअघि नै शैक्षिक संस्थाको पूर्ण जानकारी लिएर मात्र विद्यार्थी पठाउन सचेत गराएको भए पनि मन्त्रालयका निरौला जस्ता बद्ननाम पात्रहरूका कारण को भबिश्य अन्योलमा परेको छ ।

निरौलाले कतिपय कन्सल्टेन्सीका उजुरीलाई तामेलीमा राखेर अबैध रुकम असुल्दै आएका थिए ।

अस्ट्रेलियास्थित विभिन्न युनिभर्सिटी र कलेजमा नेपाली कन्सल्टेन्सी संचालकहरुको लगानी रहेको छ । अबैध रुपमा नेपाली पैसा बिदेश पठाउने कार्यमा समेत निरौलाको संलग्नता रहेको बुझिएको छ ।

निरौलाको ठगी गर्ने कन्सल्टेन्सीसँग कस्तो सम्बन्ध छ भन्ने कुरा उनकी फेसबुक पेजमा गएर हेर्दा प्रस्ट देखिन्छ ।

कन्सल्टेन्सीहरूको ब्रान्च ओपनिङ देखी सेमिनार र फेयरसम्म देखिने निरौलाले बालकोटमा अलिशान महल बनाउनेदेखि काठमाडौंमा करोडौ मूल्य पर्ने जग्गा खरिद गरेको स्रोतको दाबी छ ।

त्यसो त इक्यान र आईरिनमा आबद्द ठूला कन्सल्टेन्सीले अबैध रुपमा हुण्डीमार्फत रकम पठाएर अस्ट्रेलियाका कलेजहरूमा लगानी गर्दै आएका छन् ।

यसरी अबैध रुपमा लगानी गर्नेहरुमाथि सम्पत्ति शुद्धीकरण बिभाग र केन्द्रीय अनुसन्धान ब्यरो (सिआईबी)ले छानविन गर्ने तयारी समेत थालेको मन्त्रालय स्रोतको भनाइ छ ।

शैक्षिक परामर्श प्रदान गर्ने नाममा अवैध तरिकाबाट मानव तस्करी, नक्कली कागजपत्रका आधारमा बैंक ग्यारेन्टी बनाउने तथा हुन्डीको कारोबार र कीर्ते धन्दा सञ्चालन गर्दै आएका ठूला कन्सलटेन्सीहरू अहिले सिआईबीको निगरानीमा परेका छन् ।

Published : Friday, 2019 February 22, 12:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया