राजा ज्ञानेन्द्रसँग डराएनौँ, कम्युनिस्टहरूसँग पनि डराउँदैनौँः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले सूचना र सञ्चार विधेयक विकृतिलाई नियमन गर्नभन्दा पनि अभिव्यक्ति स्वतन्त्रातामा अंकुश लगाउन ल्याइएको बताएका छन् ।

शुक्रबार संसदको बैठकमा सरकारका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल नियमन गर्न बनेको सञ्चार विधेयक छलफलका लागि पेश गरेपछि छलफलमा भाग लिँदै कांग्रेसका सांसद थापाले भने, ‘यो विधेयकमा हुनुपर्ने कुरा छैन । नहुनुपर्ने कुरा धेरै छन् ।’

‘संविधानसँग विधेयक बाझिने गरेर ल्याइएका छन् । विधेयकमाथि छलफल गरेर केही हुँदैन । विधेयकमा राखिएका विषयलाई हटाउन सडकमै जानुपर्छ’, उनले भने, ‘सामाजिक सञ्जाल दर्ता गर्ने कुरा ठीक छ । तर, सामाजिक सञ्जालहरू नेपालमा दर्ता गर्न आएन भने के गर्न ?’

कांग्रेसका सांसद थापाले भनेका छन्, ‘फेसबुक, ट्वीटर, युट्युबसहितका सामाजिक सञ्जाललाई दर्ता गर्नेभन्ने उदेश्यभन्दा पनि यो सरकारले सामाजिक सञ्जालहरूलाई बन्द गर्ने चाहना हो ।’ सांसद थापाले भने, ‘सामाजिक सञ्जाल दर्ता गर्न आएन भने के गर्ने बन्द गर्ने ? बन्द गर्न पाइँदैन ।’

सामाजिक सञ्जालबाट देशलाई राजश्व उठाउने विषयमा सूचना तथा प्रविधि विधेयकमा कुनै कुरा नरहेको भन्दै कांग्रेसका सांसद थापाले भने, ‘सामाजिक सञ्जाललाई नियमनभन्दा पनि नियन्त्रण गर्न विधेयक बनाइएको छ । सरकारको कुरो प्रष्ट छ ।’

सांसद थापाले सामाजिक सञ्जालमा नागरिकहरूले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर कसैले पनि अभिव्यक्ति नदिएको बताए । ‘संविधानले नभनेको कुरा कसैले पनि भन्दैन’, उनले भने, ‘सामाजिक सञ्जालमा सबैभन्दा धेरै पीडित छ भने मै छु होला । तर, सामाजिक सञ्जाल नियमन गर्ने बहानामा नियन्त्रण र बन्द गर्ने उदेश्य छ ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीले सबैलाई होच्याउने र गिज्याउने गरेको बताएका कांग्रेसका सांसद थापाले भने, ‘सबैभन्दा धेरै प्रधानमन्त्रीले नै होच्याउनु हुन्छ । सरकारको सामाजिक सञ्जालप्रति नियत नै बदनीयत छ ।’

नेपाली कांग्रेसका सांसद थापाले सूचना तथा सञ्चार विधेयकमाथिको छलफलबाट अभिव्यक्ति स्वतन्त्रता वापस नआउने बताए ।

‘जनताको स्वतन्त्रता विरोधी यो विधेयकलाई जनताको संघर्षबाट मात्रै हटाउन सकिन्छ । यहाँ छलफल गरेर हटाउन सकिँदैन । राजा ज्ञानेन्द्र शाहले निरंकुशता ल्याउँदा फोन काटे । फोन काट्दा न फोन बन्द भयो । न मुख बन्द भयो ।’

Published : Friday, 2019 February 22, 2:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया