कांग्रेसको विधान बहुमतले पारित, आरक्षणमा रमाउने नेताहरू मालामाल

काठमाडौं । नेपाली कांग्रेसभित्र एकमहिना लामो छलफल र बहसपछि महासमितिले परिमार्जनसहित पठाएको पार्टीको विधान, राजनीतिक प्रस्ताव लगायतका सबै प्रस्तावहरू बहुमतले पारित भएका छन् ।

ललिपुरको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतले विधान लगायतका सबै प्रस्ताव पारित गरेको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए ।

नेपाली कांग्रेसको संशोधित विधानमा केन्द्रीय पदाधिकारी लगायत केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने अथवा बुथदेखि नै मतदानको प्रक्रियाबाट निर्वाचित भएर आउने भन्ने विषयका अतिरिक्त समावेश समानुपातिक कोटामा एक पटकभन्दा बढी पटक दोहोर्‍याउने भन्ने विषयमा पार्टीभित्र मतभेद भएपछि विधानका यी विषयमा सर्वसम्मत निर्णय हुन नसकेको हो ।

विधान पारित भएसँगै नेताहरूले जति पटक चाह्यो त्यति पटक आरक्षणबाट अवसर पाउने भएका छन ।

नेपाली कांग्रेसले सनातन हिन्दू राष्ट्रको पक्षमा उभिने वा नउभिने भन्ने विषयमा पनि सर्वसम्मत हुन सकेन । फलस्वरुप संविधान बमोजिम धर्मनिरपेक्षताको विषय पनि बहुमतले पारित गरेको छ ।

मंसिर २९ गते शुरु भएर पुस ८ गते सकिएको कांग्रेस महासमिति बैठकले परिमार्जनको सुझावसहित पठाएको विधान लगायतका प्रस्तावहरुमाथि गत माघ १० गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुँदै आएको थियो ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूले अधिकांश महासमिति सदस्य तथा आम कार्यकर्ताको भावना अनुसार सबै पदाधिकारी र केन्द्रीय सदस्य बुथबाट चुनिएरै आउनु पर्ने अडान राख्दै आएका थिए ।

त्यसको वैधानिक तथा व्यवहारिक पक्षलाई ध्यान दिँदै पार्टीभित्रका अधिकांश नेता तथा सदस्यहरूले भावनामा बहकिएर पार्टी नचल्ने भन्दै केन्द्रीय समितिले महासमितिमा छलफलका लागि लगेको बाहेक अन्य प्रस्ताव विधानत स्वीकार्य नहुने भन्दै विरोध जनाएका थिए ।

बैठकमा सभापति शेरबहादुर देउवाले विधान लगायतका प्रस्तावहरूमा केन्द्रीय समितिभित्र सकभर सहमतिको प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि प्रक्रियामा अघि बढाएका थिए ।

महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानका विवादित दुई बुँदालाई थाँती राखेर बाँकी मस्यौदा सर्वसम्मत गरौँ भन्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए ।

महामन्त्री खड्काको प्रस्तावमा गोपालमान लगायतले असहमति जनाएर सबै प्रस्ताव पारित गर्नुपर्छ भनेपछि रामचन्द्र पौडेलले पनि असहमति जनाउँदै आफूले आफ्नो कुरा राख्ने र सभापतिले बैठकमा आफ्नो निर्णय गर्न सक्ने भन्दै प्रक्रियामा अघि बढ्न तयार भएका थिए ।

देउवाले विधान मस्यौदा निर्णयार्थ पेश गरेपछि बैठकमा बहुमतले विधान लगायतका प्रस्तावमा महासमितिले दिएको सुझाव परिमार्जन सहित पारित भएको घोषणा भएको छ ।

नेता पौडेल, सीतादेवी यादव, सिटौला, डा.रामशरण महत, अर्जुनरसिंह केसी, बलबहादुर केसी, धनराज गुरुङ, रामकृष्ण यादव, नवीन्द्रराज जोशी, चन्द्रकान्त भण्डारी, गगन थापा प्रदीप पौडेल, दिलेन्द्र बडु लगायतले विरोध गर्दै नोटअफ डेसिन्ट लेखेका छन् ।

सभापति देउवाले अघि सारेको प्रस्ताव बहुमतले पारित भएपछि नोटअफ डिसेन्ट लेख्नेक्रममा असन्तुष्ट पक्षका महामन्त्री डा.शशांक कोइरालासहित कतिपय सदस्यहरूले आफूहरू नोटअफ डिसेन्ट लेख्न तयार नभएपछि अल्पमतमा रहेको असन्तुष्ट पक्षभित्रै मत बाझिएको थियो ।

हिन्दूधर्मको वकालत गर्दै आएका केन्द्रीय सदस्यहरू शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसालका अतिरिक्त चन्द्रकान्त भण्डारी र दिलेन्द्रप्रसाद बडुले पनि उनीहरूलाई साथ दिएर फरकमत दर्ज गरेको अर्का नेताले बताएका छन् ।

सभापति देउवाले बहुमत सदस्यको सहयोगमा विधान पारित गरेपछि असन्तुष्ट पक्षले फरक मत राख्दै त्यसलाई आगामी महाधिवेशनसम्म आफ्नो राजनीतिक मुद्दाको रुपमा अघि बढाउने रणनीति बनाएको छ ।

Published : Sunday, 2019 February 24, 8:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया