ओलीले विप्लवको हिंसा नरोक्नुमा गम्भीर षड्यन्त्र : रामचन्द्र पौडेल

रसुवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिस्ट सरकारले विप्लवको नेकपालाई हिंसा गर्नबाट नरोकेकोमा विभिन्न आशंका गरेका छन् ।

रसुवामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘झापामा केपी ओली संलग्न तत्कालीन मालेले शुरु गरेको हिंसात्मक द्वन्द्वलाई प्रचण्डले बढावा दिए अनि अहिले दुवै नेताले नेतृत्व गरेको सरकारले विप्लवको हिंसात्मक द्वन्द्वलाई रोक्न नखोज्नु रहस्यमय विषय भएको छ ।’

उनले कम्युनिष्टहरूले हिंसा रोक्न नखोज्नु रहस्यमय भएको बताए ।

पौडेलले भने, ‘केपी ओली समेत संलग्न भएको पार्टीले झापाबाट शुरु गरेको हिंसात्मक द्वन्द्वलाई प्रचण्डले देशव्यापी बनाए । अहिले विप्लवको हिंसात्मक द्वन्द्वलाई वेवास्ता गरिरहेका छन् । यो भन्दा रहस्य अरु के हुन्छ ?’

नेता पौडेलले कम्युनिष्टहरूले क्रान्ति मान्छेको टाउको काटेर शुरु गरेको बताए । उनले भने, ‘कांग्रेसले क्रान्तिको सुरुवात हलो जोतेर गरेको छ । कम्युनिस्टहरूले मान्छेको टाउको काट्छन् । त्यसैलाई क्रान्ति भन्छन् ।’

पौडेलले कम्युनिष्टहरूले बास्तविकता महशुस गर्ने वित्तिकै कांग्रेसमा प्रवेश गर्नेहरूको लर्को लाग्ने बताए ।

साम्यवादको सपना देख्ने मान्छेहरूले साम्यवाद मिथ्या रहेछ भन्ने महशुस गर्न थालेको पौडेलले उल्लेख गरे । उनले भने, ‘अहिले सवै दल नेपाली कांग्रेसले अंगालेको नीतिमा आएका छन् । साम्यवाद मिथ्या रहेछ भन्ने मान्छेहरू बढ्दै छन् । अब कांग्रेस प्रवेशमा लर्को लाग्छ ।’

उनले नेपाली कांग्रेस विगतदेखि वर्तमानसम्म एउटै आर्दशमा रहेको बताउँदै भने, ‘हिजो कम्युनिष्ट नेताहरू जे भन्नुहुन्थ्यो, आज त्यो भन्नुहुन्न तर हामी जे भन्ने गर्दथ्यौँ आज पनि त्यही भन्दै छौ ।’

नेता पौडेलले देशको समृद्धिको यात्रा कम्युनिष्टबाट संभव नहुने स्पष्ट पारेका छन् ।

कांग्रेसका नेता पौडेलले भने, ‘प्रधानमन्त्रीले समृद्धिको जग बसाएको भाषण गर्नुभएको छ । आम नागरिकले महसुश गर्नुभएको छ ? के आज समृद्धिको जग बसेको छ ?’

पौडेलले प्रश्न गरे, ‘समृद्धिको जग भनेको वाइड बडीमा चार अर्ब, एनसेल काण्ड अनि सुन काण्ड हुन् ?’ उनले कम्युनिस्ट सरकार चुर्लुम्म भ्रष्टाचारमा डुबेको बताए ।

Published : Monday, 2019 February 25, 7:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया