कांग्रेसको भविष्यप्रति सभापति देउवा चिन्तितः मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक जिल्लाका सभापति मोहनबहादुर बस्नेतले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पार्टीलाई मिल्न नदिएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै केन्द्रीय सदस्य बस्नेतले सभापति शेरबहादुर देउवा सहमतिमा पार्टीलाई अगाडि बढाउन चाहने पनि पौडेल र सिटौलाले व्यक्तिगत स्वार्थलाई ध्यान दिएर विवाद निकालेको आरोप लगाए ।

उनले पार्टीभित्रको विवादलाई देउवाले गम्भीरतापूर्वक लिएको बताए । ‘सभापति शेरबहादुर देउवा पार्टीलाई मिलाएर लैजाऔँ भन्ने पक्षमा हुनुहुन्छ’, उनले भने, ‘व्यक्तिगत कुरा र इगो उठाएर पौडेल र सिटौलाले समस्या निकाल्ने गर्नु हुन्छ ।’

बुथबाट महाधिवेशन प्रतिनिधि बन्नका लागि विधानले कसैलाई पनि नछेक्ने उनले बताए । ‘म सिन्धुपाल्चोक जिल्लाको सभापति हुँ । प्रत्येक पटक महाधिवेशन प्रतिनिधि एक नम्बरमा जितेर आएको छु’, बस्नेतले भने, ‘केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई बुथबाट आउन खुला छ । इच्छा भएका नेताहरू सिधै बुथमा जान सक्छन् ।’

तत्कालीन समयमा कृष्णप्रसाद सिटौला संयोजक रहेको समितिले नै केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था राखेको बस्नेतले बताए । ‘रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाहरूले नै यो व्यवस्था बनाएका हुन्’, उनले भने, ‘अहिले पनि त्यही व्यवस्थालाई अनुसरण गरिएको छ ।’

कांग्रेसभित्र पेलेर जाने मनोवृत्ति सभापति देउवामा आफूले नदेखेको उनले बताए । ‘मंगलबारको बैठक पनि सभापति देउवाकै इच्छामा रोकिएको छ’, उनले भने, ‘रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले समस्या निकालेका हुन् । तर, नेताहरूलाई बाहिर राखेर निर्णय गर्दा कांग्रेसप्रतिको सन्देश राम्रो जाँदैन भनेर सभापतिजीले अनुशासन समिति बनाउनु भएन ।’
सहमति खोज्ने गरेर केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको केन्द्रीय सदस्य बस्नेतले बताए ।

Published : Wednesday, 2019 February 27, 10:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया