कांग्रेसभित्र बलियो बन्यो हिन्दूराष्ट्रको एजेण्डा, खाँणलाई दिए बौद्ध–मुस्लिमले साथ

काठमाडौं । नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको एजेण्डाले नयाँ उचाइँ पाएको नेताहरूले बताउन थालेका छन् । कांग्रेसका नेता बालकृष्ण खाँण हिन्दूराष्ट्रका पक्षमा निकै दृढताका साथ प्रस्तुत भएका छन् । खाँणले हिन्दूराष्ट्रको कुरालाई जोडदार रुपमा उठाएपछि यो एजेण्डाले नयाँ उचाइँ लिने सम्भावना बढेर गएको हो ।

खाँणले भनेका छन्, ‘पार्टीको आगामी महाधिवेशनमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गर्ने पहिलो व्यक्ति मै हुनेछु ।’ खाँण मात्र होइन, कपिलवस्तुका नेता अतहर कमाल मुसलमानले पनि हिन्दूराष्ट्रको एजेण्डालाई समर्थन गर्ने दृढता प्रकट गरेका छन् ।

बौद्धमार्गी नेता बहादुरसिंह तामाङले आफू हिन्दू धर्मावलम्बी नभए पनि हिन्दूराष्ट्रको एजेण्डालाई समर्थन गर्ने बताएका छन् । तामाङको भनाइ छ, ‘नेपाल हिजो पनि हिन्दूराष्ट्र थियो र भोलि पनि हुन्छ भने मलाई कुनै आपत्ति छैन ।’

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले यो विचार व्यक्त गरेका हुन् । गत माघ १७ गते शुरु भएको कार्यसमितिको बैठक बीचबीचमा स्थगित हुँदै बुधबार अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

फागुन १ गतेको बैठकमा धर्मनिरपेक्षताको ठेकेदारका रूपमा समेत चिनिएका विमलेन्द्र निधिले आफूद्वारा महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन सहभागी सदस्यहरूलाई बाँडेका थिए ।

प्रतिवेदनमा धर्मनिरपेक्षतालाई विशिष्ट उपलब्धि भनी उल्लेख गरिएकोप्रति आपत्ति जनाउँदै युवा नेता शंकर भण्डारीले त्यसअघिकै बैठकमा धर्मनिरपेक्षतालाई उपलब्धिका रूपमा उल्लेख गर्न नहुने धारणा राखेका थिए ।

हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर गरी निवेदन दिने करीब साढे सात सय महासमिति सदस्यको प्रस्तावबारे छलफल गर्न पनि भण्डारीले बैठकमा आग्रह गरेका थिए । भण्डारीलाई नेताहरू डा.नारायण खड्का, एनपी साउद र पुष्पा भुसाललगायतले पनि साथ दिएका थिए ।

फागुन १ गतेको बैठकमा निधिले ‘विशिष्ट’ शब्द मात्र हटाएर धर्मनिरपेक्ष उपलब्धि भएको भन्ने व्यहोरा राखी प्रतिवेदन वितरण गरेका थिए ।

यसरी महासमितिका सदस्यको निवेदन र केन्द्रीय सदस्यहरूको भावनाको उपेक्षा गर्दै निधिले प्रतिवेदन पारित गराउने उद्देश्यका साथ बैठकमा प्रस्तुत गरेपछि नेता खाँणको धैर्य टुटेको बताइन्छ ।

खाँणले संसारका एक अर्बभन्दा बढी जनताको आस्थाको राष्ट्र नेपाल हिन्दूराष्ट्र बन्न किन नहुने भन्ने प्रश्न गर्दै भनेका थिए । उनले भनेका छन्, ‘नेपाल हिन्दूराष्ट्र हुन्छ । साढे सात सयजना महासमितिका सदस्यले पेस गरेको निवेदनमा यहाँ छलफल हुनुपर्छ । हिन्दूराष्ट्रको एजेण्डामा अहिले नै ठोस निर्णय नगर्ने हो भने पार्टीको आगामी महाधिवेशनमा म यही एजेण्डालाई लिएर अघि बढ्छु र पहिलो हस्ताक्षर गर्ने व्यक्ति म नै हुनेछ ।’

नेता खाँणले जोडदार ढंगले आफ्ना कुरा राखेपछि कांग्रेस बैठकको माहौल बदलिएको थियो । खाँणपछि बोलेका नेता अतहर कमाल मुसलमानले भनेका छन्, ‘म मुसलमान हुँ, तर हिन्दूराष्ट्रको एजेण्डालाई समर्थन गर्छु ।’

नेताहरू खाँण, अतर कमाल मुसलमान र बहादुरसिंह तामाङसहितले हिन्दूराष्ट्रको पक्षमा धारणा व्यक्त गरेपछि कांग्रेसभित्र यो एजेण्डाले मूर्तरूप लिने सम्भावना बढाएको छ ।
तनहुँ कांग्रेसमा गोविन्दराज जोशीका मुख्य प्रतिद्वन्द्वीसमेत मानिने रामचन्द्र पौडेल, जनकपुरका विमलेन्द्र निधि र झापाका कृष्ण सिटौला अहिलेसम्म हिन्दूराष्ट्रको एजेण्डाविरुद्ध देखिएका छन् ।

मंसिर–पुसमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा युवानेताहरू शंकर भण्डारी, कर्ण मल्ल, शंकर पाण्डे, लोकेश ढकाल र चन्द्र केसीलगायतले हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर अभियान चलाएका थिए । बिनातयारी चलाएको उक्त अभियानमा सात सय पैंतीस महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरसहितको निवेदन युवा नेता कर्ण मल्लले पार्टी सभापति शेरबहादुर देउवासमक्ष पेस गरेका थिए । विजयकुमार गच्छदारलाई दिइएको दुई सयजनाको कोटासहित कांग्रेस महासमितिमा करीब १६०० सदस्य रहेका छन् । तीमध्ये कम्तीमा १३०० सदस्य हिन्दूराष्ट्रको पक्षमा भएको विश्वास गरिन्छ ।

पछिल्लो समय हिन्दूराष्ट्रका विषयमा महामन्त्री डा. शशांक कोइराला र डा.शेखर कोइरालाले आफ्नो धारणा प्रकट गरेका छैनन् । यदाकदा हिन्दूराष्ट्रको पक्षमा अभिमत जाहेर गर्ने गरेका हुनाले यी नेताहरूबाट पनि हिन्दूराष्ट्रको एजेण्डालाई साथ रहने विश्वास गरिएको छ ।

Published : Wednesday, 2019 February 27, 11:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया