शोक मनाउन बिहीबार सार्वजनिक विदा

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अिधकारीसहित सातजनाको हेलिकप्टर दुर्घटनामा परेर निधन भएकोमा शोक मनाउन बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद बैठकले बिहीबार सार्वजनिक विदा दिनुका साथै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

बिहीबार सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दूतावास र नियोगहरूलाई सार्वजनिक बिदा दिने उल्लेख छ ।

तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरी फर्केने क्रममा पाथिभरा मन्दिर दर्शन गरेर आउँदा हेलिकप्टर दुर्घटना भएको थियो ।

हेलिकप्टरमा सवार मन्त्री अधिकारी र व्यवसायी शेर्पासहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुबदास भोछिभोय, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसीको निधन भएको छ ।

मन्त्रिपरिषदले दुर्घटनाका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन दिन पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा चार सदस्यीय जाँच आयोग गठन गरेको छ ।

आयोगमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी प्रमोद लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य छन् ।

Published : Wednesday, 2019 February 27, 9:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया