ओली अल्पमतमा पर्दा प्रचण्ड शक्तिशाली, क–कसले छाडे ओलीको साथ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि विवादले उग्ररुप लिँदै गएको छ । नेता माधवकुमार नेपाल र झलनाथ खनालले सार्वजनिक रुपमा सरकारको विरोध गरिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध अभिव्यक्ति दिन थालेका छन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले काम गर्न नसकेको भनेर नेताहरूले आलोचना गर्दै आएका छन् । आफ्नै काम अलोप्रिय बन्दै गएपछि पार्टीभित्र ओली अल्पमतमा परेका छन् ।

केन्द्रीय सचिवालय, स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय कार्यसमितिमा ओली अल्पमतमा परेपछि उनी पार्टीको कुनै पनि बैठक बोलाउने पक्षमा छैनन् । बैठक बोलाउन ओलीलाई दबाब परिरहेको छ ।

ओलीमाथि बहुमतको निर्णयबाट डराएर बैठक नबोलाएको आरोप लाग्दै आएको छ । ओलीलाई अहिले साथ दिनेमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै छन् । ओलीले एकलौटी रुपमा जर्बजस्ती निर्णय गर्ने गरेपछि दोस्रो तहका अध्यक्ष दाहाल रिसाएका छन् ।

दाहालभन्दा पनि नेपाल–खनाल समूह रिसाएका छन् । पार्टीभित्रको आक्रोश र आलोचनालाई मत्थर बनाउन ओली केही मन्त्रीहरूलाई हटाई नयाँलाई अवसर दिने पक्षमा देखिएका थिए । तर, त्यो प्रयास पनि ओलीका लागि सजिलो बाटो भएन । ओलीको हरेक प्रयासमा अहिले बामदेव गौतम पर्खाल बनेर आउने गरेका छन् ।

गौतमले ओलीसँग बदला लिन थालेका छन् । ओलीको कार्यशैलीबाट रिसाएका नेताहरूले दाहाललाई साथ दिन थालेका छन् । एमाले पृष्ठभूमि भएका अधिकांश नेताहरूले ओलीको साथ छाडेर दाहालको पछाडि कुद्न थालेका छन् ।

ओलीसँग भेट्न असजिलो छ । विष्णु रिमालसहितका सल्लाहाकारहरूले भेट्न दिँदैनन् । ओलीलाई भेट्न नपाएपछि नेताहरू सिधै खुमलटार पुगेर दाहाललाई भेट्ने गरेका छन् ।

ओलीका कमीकमजोरीहरूलाई दाहालले आफ्नो शक्ति र उर्जाका रुपमा प्रयोग गर्दै आएको स्रोतले जनाएको छ । नेपाली कांग्रेसले ओलीका क्रियाकलापमाथि नै आफूलाई केन्द्रित बनाएपछि दाहाल झन् खुसी छन् ।

दाहालले ओलीले आफूलाई सरकार र पार्टी दुबै नदिने पक्षमा रहेको बुझेका छन् । ओली पावरमा रहँदासम्म दाहाल शून्यमा रहेर काम गर्नुपर्ने हुन्छ । यो कुरा दाहाललाई मन परेको छैन । त्यही भएर दाहालले ओलीका विरुद्ध फेरि अभिव्यक्ति दिन थालेको टिप्पणी भइरहेको छ ।

एमाले र माओवादी केन्द्रका नेताहरू र संगठनलाई समायोजन गर्न बनाइएको कार्यदल भङ्ग गरिएपछि नेकपाभित्र झन् विवाद बढेको हो । कार्यदल भङ्ग गर्नेमा ओली नै अगाडि छन् । ओलीको यो कार्यको योगेश भट्टराईले विरोध गरेका छन् ।

योगेशले पनि ओलीलाई साथ नदिने प्रष्ट संकेत गरिसकेका छन् । योगेशले पछिल्लो दिनहरूमा दाहाललाई खुलेरै साथ दिएको चर्चा छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत ओलीलाई सहयोग हुने गरेर कुनै पनि काम गर्न सकेका छैनन् । यस्तो अवस्थामा ओली झन् तनावमा परेको चर्चा हुन थालेको छ ।

Published : Thursday, 2019 February 28, 9:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया