देउवालाई धोका दिएर निधि भारततिर टाप

काठमाडौं । पार्टीको विधानलाई पारित गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक–पटक सहमतिको प्रयास गरे । तर, नेताद्धय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले निरन्तर असहयोग जारी राख्यो ।

पौडेल–सिटौला समूहले देउवालाई यतिसम्म पेल्न थाले की कुनै पनि निर्णय हुन दिने अवस्थामामा रहेनन् । नेविसंघको विवादलाई पनि तन्काएर पौडेल–सिटौला समूहले निरन्तर देउवालाई असहयोग जारी राखे ।

पौडेल–सिटौलालाई सहयोग मिल्ने गरेर उपसभापति विमलेन्द्र निधिले पनि भित्रभित्रै गतिविधि थालेका छन् । नुवाकोट जिल्लाका सभापति जगदीश्वर नरसिंह केसी र केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको उक्साहटमा लागेर निधिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बुथबाट प्रतिनिधि बनेर आउनै पर्ने प्रावधान अगाडि ल्याए ।

तर, उनीहरूले के कुरा बुझेनन् भने सभापतिसहित सबै पदाधिकारी र सदस्यहरू महाधिवेशन प्रतिनिधि हुन सकेनन् भने महाधिवेशन कसले गराउँछ भन्ने । नेपाली कांग्रेसको ८४ जनाको केन्द्रीय कार्यसमितिमा करिव ५० जना देउवालाई समर्थन गर्ने नेताहरू छन् । ९ जनाको आमन्त्रित केन्द्रीय सदस्यहरूमा पनि अधिकांश देउवा समूहकै छन् ।

उनीहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने हो भने देउवालाई सभापति पदमा उम्मेदवार बन्न झन् सजिलो हुनेछ । देउवाका ती महाधिवेशन प्रतिनिधिलाई रोक्न पौडेल–सिटौला समूह लागेका हुन् । पौडेल–सिटौलाको यो अभियानमा निधिले पनि अप्रत्यक्ष रुपमा सहयोग गरेको देखिन्छ ।

निधिले विजयकुमार गच्छदारका करिव १६ जना केन्द्रीय सदस्यहरूलाई महाधिवेशन प्रतिनिधिमा रोक्नका लागि केन्द्रीय नेताहरू बुथबाट प्रतिनिधि बन्ने प्रस्तावको पक्षमा जोड दिएका थिए ।

सभापति देउवाले निधिलाई भन्दा पनि गच्छदारलाई विश्वास गर्न थालेपछि निधि देउवा समूहबाट टाढिएका छन् । निधि पनि कांग्रेसभित्रको विवाद बढाउनमा ठूलो भूमिकामा छन् ।

कांग्रेसभित्र आगो सल्काएर निधि भारत भ्रमणमा निस्किएका छन् । उनलाई भारतमा रहेका नेपाली कांग्रेस समर्थक नेपालीहरूले बेङ्लोरमा मंगलबार भव्य स्वागत गरेका थिए ।

आइजीपी काण्डमा पनि निधिले नवराज सिलवाललाई सहयोग गरेका थिए । देउवा जयबहादुर चन्दको पक्षमा थिए । अहिले पनि निधिले आइजीपी काण्डमा जस्तै भूमिका खेलेर सभापति देउवालाई विवादमा ल्याएका छन् ।

देउवाले कांग्रेसका लागि यस पटक इमान्दारिताका साथ काम गरेका थिए । देउवाले कम्युनिस्टहरू बलियो भएका बेला कांग्रेसका नेताहरू मिलेर जानुपर्ने सन्देश दिन खोजेका थिए । तर, देउवाको यो प्रयासलाई पौडेल–सिटौला–निधिले कमजोरीका रुपमा लिए । अन्त्यमा कांग्रेसलाई नोक्सानी हुने पक्का जस्तै छ ।

यता, मंगलबारको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेर अनुशासन समिति बनाउन नदिएका पौडेल–सिटौला समूह मोहम्मद अफ्ताब आलमको छोराको विवाह भोज खान रौतहट पुगे ।

रामचन्द्र पौडेल, डा.शशांक कोइराला, डा.शेखर कोइराला, सरिता प्रसाइँसहितका नेताहरू पार्टीभित्रको विवादलाई यथावत छाडेर विवाह भोज खान रौतहट पुगेका हुन् ।

पौडेल–सिटौला समूहले अनुशासन आयोगमा बुहमत सदस्य माग गरेका छन् । उनीहरूले अनुशासन समितिले जे निर्णय गर्दा पनि सर्वसहमतिबाट गर्नुपर्ने अडान राखेका छन् । यस्तो उट्पट्याङ मागले देउवा झन् रिसाएका छन् ।

सिटौलाको उक्साहटमा नेविसंघका नेताहरूबीच सानेपामा ढुंगाहानाहान भएपछि चिढिएका देउवाले ढुंगाहानाहान भएकै दिन बुहमतबाट विधानलाई पारित गराएका थिए । पार्टीको विधान पारित भएको कुरा कसैले चाल पाएका थिएनन् ।

त्यस दिनको बैठकमा बोल्न समय माग्दा सभापति देउवाले ‘आज विपक्षीहरूले मात्रै बोल्ने हो’ भनेर पौडेल–सिटौला समूहलाई समय दिएका थिए । केही समय बोलेर पौडेल–सिटौला समूहले नोट अफ डिसेन्ट लेखेर बाहिरिएका थिए ।

पौडेल–सिटौला समूहका धेरै केन्द्रीय सदस्यहरू नोट अफ डिसेन्टमा हस्ताक्षर नगरेर बाहिरिएका थिए । तर, पौडेल–सिटौला समूहका नेताहरूले फोन गरेर हस्ताक्षर गर्न जान दबाब दिएका थिए ।

Published : Thursday, 2019 February 28, 10:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया