यी हुन् सेवाग्राही कुट्ने ‘धुन्दुकारी’ अध्यक्ष, दुई तिहाइको पावर चढ्यो

आलोक यादव

सिरहा । सिरहा जिल्लामा आफ्नो पसलमा चोरी भएको गुनासो लिएर गाउँपालिका पुग्दा एकजना स्थानीय कुटिएका छन् ।

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका – २ पर्सा पोखरभिण्डाका विष्णुदेव यादव गाउँपालिकाका अध्यक्ष रामबल्लब साहबाटै कुटिएका हुन् । अध्यक्ष साह संघीय समाजवादी फोरम नेपालका विजयी भएका हुन् । बेलाबेला विवादमा परिरहने साहले आफ्नै सेवाग्राहीलाई कुटपिट गरेपछि झन् आलोचना शुरु भएको छ ।

पीडित यादवलाई गाउँपालिका अध्यक्ष साहले शुरुमा आफै हात हालेपनि पछि सहयोगीमार्फत कार्यालयबाट हात र लातले कुट्दै बाहिर निकालेको पीडित यादवले आरोप लगाएका छन् ।

कुटपिटबाट घाइते भएका यादवले लहानस्थित राउ स्मारक अस्पतालमा उपचार गराएर घर फर्केका छन् । उनको अनुहार र आँखामा चोट लागेको छ ।

शुक्रबार यादवले इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा निवदेन दर्ता गराएका छन् । ‘कुटपिट भएको दिन यादवले मौखिक रुपमा जानकारी गराउन आउनु भएको थियो’, ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी प्रमुख प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठले भने, ‘लिखित निवेदन दर्ता गराएपछि हामीले स्वास्थय जाँचको लागि लेखेर पठाएका छौँ ।’

फागुन ८ गते बुधबार यादवको मदिरा पसलमा चोरी भएको थियो । पसल बन्द गरेर घरमा खाना खान जाँदा चोरले पसल फोडेर चोरी गरेको पीडित यादवले सुनाए ।

‘५–६ जनाको समूहमा आएका चोरले पसलमा भएको चाउचाउ, रजनीगन्धा, रक्सी र नगद ७६ सय रुपियाँ लग्यो’, उनले भने, ‘खोज्दै जाँदा गाउँ बाहिर चोर फेला पर्‍यो । एक्लै हुँदा समात्न सकिन । दुईजना चोरलाई चिने ।’

चोरी भएको खबर वडाध्यक्ष धमेन्द्र रायलाई तत्कालै जानकारी दिएको यादवले बताएका छन् । यादवका अनुसार गाउँमै जन्ती आएकाले राति केही नगर्नु भनेर वडाध्यक्षले फर्काएका थिए । ९ गते वडाध्यक्ष रायले यादवलाई आफूले यस विषयमा केही गर्न नसक्ने भन्दै न्यायिक समितिमा चिठी लेखेर पठाए ।

फागुन १० गते न्यायिक समितिमा छलफल चलिरहेका बेला गाउँपालिकाका अध्यक्ष साहले पञ्चायतको मिति सार्न लगाए । छलफलबाट सबै कुरा भइसकेको थियो । निर्णय लेख्न बाँकी थियो ।

न्यायिक समिति संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष आशा यादवले भनिन्, ‘त्यतिकैमा अध्यक्षले आज निर्णय नगरी अर्को दिन छलफल राख्न लगाए ।’

फागुन १६ गते बिहीबार छलफलको समय दिएको थियो । अध्यक्ष साहले दिएको समयमा कार्यालय पुगेर आफ्नो चोरीको विषयमा के भयो भनेर जानकारी माग्दा आफूमाथि कुटपिट भएको पीडित यादवले बताएका छन् ।

अध्यक्ष साहले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । यादवले जोडले बोल्न थालेपछि कार्यालयबाट सहयोगी लगाएर बाहिर निकालेको उनले स्वीकार गरेका छन् । ‘मैलेले कुटपिट गरेको छैन’, अध्यक्ष साहले भने, ‘अलि जोडले बोल्न थालेपछि सहयोगी लगाएर कार्यालय बाहिर निकाल्न लगाए ।’

उनको पसलमा भएको यो चोरी आठौँ पटक हो । ४ वर्ष वैदेशिक रोजगारबाट कमाएको रकमले साहले व्यापार शुरु गरेका थिए । ‘सानो पुँजीबाट व्यापार सुरु गरे । चोरीले हैरान बनायो’, उनले भने, ‘न्याय माग्न जाँदा आफै कुटिएँ ।’

Published : Friday, 2019 March 1, 7:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया