कम्युनिस्ट सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्‍योः देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता नेपालको वास्तविकता भएको भन्दै अब कुनैपनि हालतमा फिर्ता नहुने बताएका छन् ।

जनकपुरधाममा मैथिली विकास कोषले शनिबार आयोजना गरेको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ को उदघाटन सत्रलाई सम्बोधन गर्दै देउवाले संघीयता देशको आवश्यकता भइसकेको बताए ।

‘अब कुनै बहानामा कसैबाट संघीयतालाई खतरामा पार्ने गरी कुनै गतिविधि वा हस्तक्षेप गर्ने प्रयास भए कांग्रेसलाई सह्य हुँदैन’, उनले भने ।

कम्युनिस्ट सरकारले अहिले विभिन्न बहानामा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने हिसाबले सामाजिक सञ्जालमाथि प्रहार गर्न खोजेको टिप्पणी गर्दै सभापति देउवाले यस्ता कदमले लोकतन्त्रलाई बल नपुग्ने बताए ।

‘मेरो प्रधानमन्त्रीकालमा मधेस र मधेसी जनताको भावनाको कदर गर्दै संविधान संशोधनको प्रयास गरे पनि सफल हुन सकेन’, उनले भने, ‘कांग्रेस अहिले पनि संशोधनका लागि तयार छ ।’

उनले नेपाली भाषापछि दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिली भएको बताउँदै मैथिली भाषा आफैँमा समृद्ध रहेको उल्लेख गरे ।

जनकपुर पौराणिक कालदेखि नै समृद्ध रहेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘अहिले जनकपुरदेखि अयोध्यासम्मका लागि धार्मिक पर्यटन विकासका लागि आएको रामायण परिपथको अवधारणा सान्दर्भिक रहेको छ । यसबाट धार्मिक पर्यटनको विकास हुनुका साथै नेपाल–भारत र दुवै देशका जनताको सम्बन्ध प्रगाढ हुनेछ ।’

Published : Saturday, 2019 March 2, 7:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया