संविधानको रक्षा कांग्रेसले गर्ने हो, कम्युनिस्टले भत्काउन चाहन्छन्ः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरित खतिवडाले राजनीति गर्नेहरूले इमान्दारिताका साथ नियमको पालना गर्नुपर्ने बताएका छन् ।

गृहजिल्ला ओखलढुंगाको सिद्दिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानीमा शनिबार खुला पुरुष भलिबल प्रतियोगितालाई सम्बोधन गर्दै खेलमा खेलाडीले नियम माने जस्तै राजनीतिमा नियमअनुसार अगाडि बढ्नुपर्ने बताए ।

‘खेलाडीको जस्तै नियाम हामी राजनीतिक गर्नेहरूले पनि सिक्नु पर्छ’, उनले भने, ‘देश विकासका लागि संविधान, ऐन कानूनहरूलाई इमान्दारिताका साथ लागू गर्नुपर्छ ।’

नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई वर्तमान कम्युनिस्ट सरकारले इमान्दारिताका साथ लागू गर्न नचाहेको आरोप लगाए । उनले भने, ‘संविधानको कार्यान्वयन अनिवार्य छ । त्यसपछि मात्रै देशमा स्थायित्व, राजनीतिक स्थिरता, विकास हुन्छ । जनता खुसी हुन्छन् ।’

कांग्रेसका युवा नेता खतिवडाले जन्तरखानी ओखलढुंगाको महत्वपूर्ण स्थान भएको भन्दै भने, ‘जन्तर सधैं मान्छेले मुटुमै राख्ने भएकोले यो जन्तरखानी पनि ओखलढुङ्गा मुटु नै हो ।’ जन्तरखानीले धेरै कुराको सम्भावना बोकेको उनले बताए ।

जन्तरखानीमा धेरै मगरको बहुल्यता भएको स्मरण गरेका खतिवडाले भने, ‘मलाई सबैभन्दा धेरै भोट आएको यहीँ जन्तरखानीमा हो । तपाईंहरूसँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ । तपाईहरू मेरो भगवान हो ।’

निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार आफूले जन्तरखानीमा टेलिफोनको टावर ल्याइदिएको कांग्रेसका युवा नेता खतिवडाले बताए । ‘मैले निर्वाचनमा पराजय भोगे पनि तपाईहरूसँग गरेको प्रतिवद्धताअनुसार टेलिफोनको टावर ल्याइदिएको छु’, उनले भने, ‘खानेपानीदेखिका अन्य विभिन्न समस्याहरू तपाईहरूले राख्नुभएको छ । ती समस्याहरू पूरा गर्नका लागि मेरो तर्फबाट पहल गर्नेछु ।’

बिराज समाजका निवर्तमान अध्यक्ष तथा समाजसेवी दिनेश कुमारले मगर जन्तरखानीमा हरेक कुराको सम्भाबना भएको बताउँदै पिछाडिएको यो क्षेत्रको विकासमा ध्यान दिन खतिवडासँग आग्रह गरे । उनले भुजापातेमा पुग्ने पानीको मुहान रहेको भन्दै जन्तरखानीका जनताले सधैँ पिउने पानीको समस्या व्यहोर्दै आएको गुनासो गरे ।

‘हामीले माग गरे अनुसार रामहरि खतिवडाज्यूले टेलिफोनको टावर ल्याइदिनुभयो’, उनले भने, ‘हामीलाई खानेपानीको समस्या छ । त्यो समस्या समाधान गरिदिएर पिउने पानीको व्यवस्था गरिदिनुस् ।’

जन्तरखानीलाई अति दुर्गम वडा घोषणा गर्न पनि उनले मागेका थिए । उनले भने, ‘जितेको माननीयाको अनुहार देख्न पाएका छैनौँ । हाम्रा गुनासाहरू कसलाई सुनाउँ ?’

नेबिसंघ आमन्त्रित केन्द्रीया सदस्य अनुपम सापकोटाले खेलाडीहरूको भविष्यका लागि नेविसंघ चिन्तित रहेको बताए । उनले खेलाडीहरूका समस्याका विषयमा नेपाली कांग्रेस र नेविसंघ सचेत रहेको बताए ।

कार्यक्रममा जल देबी युवा क्लबको लागि निमबहादुर मगरले ५० लाख मूल्य बराबरको ५ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

नवज्योति माबिका लागि लोकबहादुर मगर र उनका दाजुभाईहरूले ७० लाख बराबरको ६ रोपनी जग्गा स्कुललाई निःशुल्क प्रदान गरेका छन् ।

यसैबीच, जलदेवी युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिता चिम्निङ युवा क्लव दुधकुन्द नगरपालिका सोलुखुम्बुले जितेको छ ।

प्रतियोगितामा बिभिन्न जिल्लाका १३ टिम सहभागी थिए । ओखलढुंगाको नवज्योति बाल समूह मैदाने सिद्दिचरण नगरपालिका दोस्रो भएको छ ।

तेस्रो र चौथोमा क्रमशः मुडे युवा क्लब सोलुखुम्बु दुधकुन्द नगरपालिका र जन्तरखानी युवा क्लब सिद्दिचरण नगरपालिका ओखलढुंगा भएका छन् ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले विजेता टिम र खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

Published : Sunday, 2019 March 3, 8:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया