निधिले फेरि कांग्रेस र देउवालाई फसाए

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को नाम ‘मिथिला’ र भाष ‘मैथिली’ राख्न सुझाव दिएका छन् ।

कांग्रेस सभापति देउवाको यो अभिव्यक्तिले प्रदेश २ का अन्य जिल्लाका कांग्रेसका नेता तथा कार्यकर्ताहरूको चित्त दुखेको छ । उपसभापति विमलेन्द्र निधिको उक्साहटमा देउवाले प्रदेश २ को नाम र राजधानीका बारेमा अभिव्यक्ति दिएका हुन् ।

गृहमन्त्री हुँदा निधिले आइजीपी काण्डमा तत्कालीन नेकपा (एमाले) निकटका नवराज सिलवाललाई सभापति देउवाको निर्देशन विपरित अडान लिएका कारण कांग्रेसलाई निर्वाचनका बेला ठूलो नोक्सानी भएको थियो ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाममा रामजानकीको जन्ती लिएर आउँदा काठमाडौंमा पत्रकार सम्मेलन गरेर निधिले विरोध गरेका थिए । त्यस बेला निधिका कारण कांग्रेसलाई समस्या परेको थियो । आदित्यनाथको विरोध गरेकोमा निधिसँग जनकपुरमा स्थानीय रिसाएका छन् ।

निधिकै उक्साहटमा सभापति देउवाले प्रदेश २ को आन्तरिक मामिलामा मुख खोल्दा अन्य जिल्लाका कांग्रेसका शुभेच्छुकहरू रिसाएका छन् । देउवालाई निधिले अर्को पटक पुनः फसाएका छन् ।

कांग्रेसको विधान संशोधनका बेला पनि निधिले सभापति देउवालाई असहयोग गरेका थिए । केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनु हुँदैन भन्ने वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहको मागमा समर्थन जनाएका थिए । निधि पनि केन्द्रीय सदस्यहरू बुथबाट प्रतिनिधि हुनुपर्छ भन्ने मान्यतामा थिए । देउवाले हप्काएपछि निधि त्यो अडानबाट पछाडि हटेका हुन् ।

सभापति देउवाले प्रदेशको स्थायी राजधानी जनकपुर तोक्न सुझाएका छन् । ‘प्रदेशको नाम, भाषा र राजधानिमा कांग्रेस एकमत छ,’ देउवाले भने, ‘प्राचिन सहर जनकपुर नै प्रदेशको राजधानीका लागि उपयुक्त छ ।’

जनकपुरमा आइतबार बिहान पत्रकार भेटघाटमा सभापति देउवाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकार वर्ष दिनमा केहि पनि गर्न नसकेको टिप्पणी गरे । ‘देशका लागि एउटा पनि देखाउने काम सरकारले गर्न सकेको छैन’, उनले भने ।

सरकारले संघीयतालाई कमजोर बनाउने षड्यन्त्रमा लागेको सभापति देउवाले आरोप लगाए । ‘समाजिक सञ्जाल कन्ट्रोल गर्ने बाहानामा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको छ’, देउवाले भने, ‘प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र सबल हुँदैन । प्रजातन्त्र र प्रेस एकअर्काको परिपुरक हो । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन सरकारले ‘साइबर ल’ ल्याएको हो ।’

वाइड बडीको खरिदमा भएको भ्रटाचारको वास्तविकता तुरुन्त सार्वजनिक गर्न सरकारसँग उनले माग गरेका छन् । देउवाले नेपाली कांग्रेस पार्टीभित्रको विवाद मिलाउन छुट्टै समिति गठन गर्ने बताएका छन् ।

Published : Sunday, 2019 March 3, 11:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया