तरुण दल कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध भिड्न तयार छः भुपेन्द्रजंग शाही

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले दुई तिहाइको कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध एकजुट भएर लड्नुपर्ने बेला आएको बताएका छन् ।

काठमाडौंको बत्तीसपुतलीमा बुधबार पत्रकार सम्मेलन गरेर शाहीले पार्टीभित्रका आन्तरिक विवादहरूलाई छिटोभन्दा छिटो मिलाएर कम्युनिस्टहरूविरुद्ध लड्नुपर्ने बताए ।

‘अहिले पार्टीभित्रको आन्तरिक विवादमा भन्दा पनि कम्युनिस्टहरूसँग भिड्नुपर्ने अवस्था आएको छ । तर, पार्टीभित्रको विवादलाई पहिला समाधान गर्नुपर्छ’, उनले भने, ‘घरभित्रको झगडालाई घरभित्रै सीमित गरौँ । कम्युनिस्टहरूसँग लड्न एकजुट भएर जाऔँ ।’

हरेक क्षेत्रमा असफल भैसकेको खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई कांग्रेसले सहि बाटोमा ल्याउनुपर्ने दायित्व आइपरेको उनले बताएका छन् । जनता समक्ष गरेका बाचा पूरा गर्नुपर्ने भन्दा पनि कम्युनिस्ट सरकारले गफ गरेर सर्वसाधारणहरूलाई झुक्याएको तरुण दलका महासचिव शाहीले बताए ।

नेपाली कांग्रेसले निर्देशन दियो भने कम्युनिस्ट सरकारविरुद्ध तरुण दलले सडक संघर्ष गर्न तयार भएर बसेको महासचिव शाहीले बताए ।

‘हामी संघर्ष गर्न पार्टीको निर्देशन कुरेर बसेका छौँ’, उनले भने, ‘पार्टी नेतृत्वले निर्देशन दियो भने कम्युनिस्ट सरकारविरुद्ध राजधानीमा एक लाख तरुणहरूलाई निलो ड्रेससहित उर्तान तयारी अवस्थामा छौँ ।’

सात वटै प्रदेशमा तरुण दलले हालै गरेको कम्युनिस्ट सरकार विरोधी कार्यक्रमबाट आफूहरूमा उत्साह थपिएको शाहीले बताए ।

‘तरुण दलको कामबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरू खुसी हुनुहुन्छ’, उनले भने, ‘महाधिवेशनका बेला आ–आफ्ना गुट पकडेर जाउँला । अहिले भनेर मिलेर जानु नै कांग्रेसको हितमा हुन्छ । म पनि कुनै एउटा गुटको हुँ । तर, मैले कांग्रेस र तरुण दलको हितका लागि धेरै कुरामा ध्यान दिएको छु ।’

Published : Wednesday, 2019 March 6, 7:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया