ओली अस्पताल भर्ना भएका बेला राजपाले छाड्यो साथ

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली उपचारका लागि अस्पतालमा भर्ना भएका बेला राष्ट्रिय जनता पार्टी (नेपाल)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

काठमाडौंको बबरमहलस्थित पार्टी मुख्यालयमा बुधबार बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकले कम्युनिस्ट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिनिधि सभाका सांसद रेशमलाल चौधरीलाई जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा मुख्य नाइके भएको भन्दै जन्मकैदको सजाय दिए लगत्तै राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

जिल्ला अदालत कैलालीको फैसलापछि सरकारमा नबस्ने निर्णय लिइएको राजपाका संयोजक महिन्द्र राय यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सांसद चौधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको निष्कर्ष निकालेको छ ।

राजाप नेपालले जिल्ला अदालत कैलालीको निर्णयविरुद्ध आन्दोलनमा आउन सबै विचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन र समूहलाई आह्वान गरेको छ ।

एक वर्ष बित्दा पनि आफूहरूसँग गरिएको सहमति अनुसार संविधान संशोधन समेत नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको पार्टी विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2019 March 6, 8:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया