सत्र हजार मान्छे मारेर बनेको माओवादीलाई कांग्रेसले पत्तासाफ बनाइदियोः रामहरि खतिवडा

बेनी । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले निर्मला पन्तका हत्याराहरू पत्ता लगाउन नसक्ने कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली देश टुक्र्याउँछु भनेर हिँडेका सीके राउतसँग अँगालो मारेर हिँडेको बताएका छन् ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा शनिबार नेपाली कांग्रेसको पार्टी कार्यालय उदघाटन तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने कम्युनिस्ट सरकारले बिखण्डनकारी सीके राउतसँग गला (घाँटी जोड्दै) मिलाउँदै हिँडेको बताए ।

‘ओलीजी आफूले सबैभन्दा धेरै गाली गर्ने गरेका प्रचण्डसँग गला मिलाए’, उनले भने, ‘केपी, सीके, पिके, उपेन्द्र यादव र राजेन्द्र महतो एउटै हुन् । उनीहरूको विश्वास छैन ।’

नेता खतिवडाले मान्छे मारेर बनेको माओवादी पार्टी नेपाली कांग्रेसले गराएको निर्वाचनबाट नामोनिशान नै नरहने गरी पत्तासाफ भएको बताए ।

‘१७ हजार मान्छे मारेको बनाएको प्रचण्डको माओवादी पार्टी नेपाली कांग्रेसले एक पटक निर्वाचन गराउँदा बिलिन(समाप्त) हुने बनाइदियो’, उनले भने, ‘यो नेपाली कांग्रेसको विजय हो । हामीले चुनाव हार्‍यौँ होला । तर, हामीले संविधान जिताएका छौँ । लोकतन्त्र जिताएका छौँ । हिजो बहुदल नमान्ने पार्टीलाई बहुदल मान्ने बनाएका छौँ । हिजो लोकतन्त्र नमान्ने पार्टीलाई लोकतन्त्रवादी बनाएका छौँ ।’

कांग्रेसका युवा नेता खतिवडाले भने, ‘वीस वर्षसम्म हुन नसकेको स्थानीय तहको निर्वाचन सम्पन्न गराएका छौँ । हाम्रो नैतिक र सैद्धान्तिक रुपमा जित भएको छ ।’

कम्युनिस्टहरूले चुनाव जिते पनि हिजो मान्छे मारेर बन्दुक लिएर हिँड्ने पार्टीहरू मान्छे मारेर हुँदैन रहेछ भन्ने अवस्थामा कांग्रेसकै कारण भएको उनले बताए । ‘मान्छे मार्ने कम्युनिस्टहरू भोट चाहिने रहेछ भोट देउ भनेर मागेका छन् । योपनि हाम्रो जित हो । उनीहरूको नैतिक हार हो’, खतिवडाले भनेका छन् ।

नेपाली कांग्रेसले गरेको देशको विकासमा माओवादीले ध्वंश नगरेर सत्यानास गरेको उनले बताए ।

‘कांग्रेसले टेलिफोन टावर बनायो, सडक बनायो, स्कुल बनायो, खानेपानी बनायो, स्वास्थ्य चौकी र अस्पताल बनायो’, उनले भने, ‘माओवादीले पानीको पाइप काट्नु भयो, टावर पड्काउनु भयो, स्वास्थ्य संस्थामा बम हान्नुभयो । विद्यालय भवन ध्वस्त बनाउनुभयो ।’

उनले भने, ‘अब तपाईहरू आफैले भन्नुस् कम्युनिस्ट र कांग्रेसले गरेको काम कस्तो हुँदो रहेछ ?’

कम्युनिस्टहरू भनेका झठको खेती गर्ने र जनतालाई झुक्काउनेभन्दा अरु केही काम नरहेको उनले बताए । ‘ओलीजीले घरघरमा ग्यासको पाइप ल्याइदिन्छु भन्नुभयो, केबुलकार बनाउँछु भन्नुभयो, पानीजहाज ल्याउँछु भनेर सपना बाँड्नु भएको छ’, उनले भने, ‘ओलीजीको सपना भन्दा नेपाली जनताले केही पाउनेवाला छैनन् ।’

कांग्रेसको सरकारका पालामा भएका जनताका पक्षका निर्णयहरू ओली प्रधानमन्त्री हुनेवित्तिकै कटौती गरिदिएको नेता खतिवडाले बताए ।

‘कांग्रेसको पालामा ६५ वर्ष पुगेकालाई दुई हजार भत्ता दिने निर्णय भएको थियो, गम्भीर प्रकृतिका रोग लागेकालाई पाँच हजार दिने निर्णय भएको थियो, ओलीजीले त्यो पनि काटनु भयो’, उनले भने, ‘भूकम्पपीडितको एक लाख पनि काटनु भयो । ओलीजीले चुनावका बेला पाँच हजार घरघरमा खनखनी पुर्‍याउने भन्नुभयो । पाहिलो वर्षमा पाँच रुपियाँ पनि पुर्‍याउनु भएन ।’

युवा नेता खतिवडाले म्याग्दीका कांग्रेसका नेता शेरबहादुर शेरचन र भीमबहादुर घिमिरे लगायत धेरैलाई हत्या गरेको भूमि भएको भन्दै माओवादीले कांग्रेस नेताहरू मारेकै जिल्लाबाट कांग्रेसको आफ्नै भवन बनेको बताए । उनले भने, ‘कांग्रेसको चारतारे झण्डा म्याग्दीबाट फहराउन थालेका छौँ । आफ्नै घर बनाएको छ ।’

युवा नेता खतिवडाले तातोपानीमा शीर्ष नेताहरूले नुहाएको प्रशंग कोट्याउँदै पार्टीभित्र रहेका बचेखुचेका फोरमैला सफा गरिएको बताए । उनले भने, ‘पार्टीभित्र विवाद छ भने मिलाउनु पर्छ । अन्यथा तातोपानीमा नेताहरूले आफ्नो फोहर मैला बगाउनुपर्छ ।’

Published : Saturday, 2019 March 9, 7:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया