कांग्रेसलाई छोरी बोक्यो भन्ने ओलीजी तपाईले त बाउआमा नै बोक्नु भोः खतिवडा

बागलुङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आफ्नो सरकार टिकाउन कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बिखण्डनवादी सीके राउतको साथ र सहयोग लिएको आरोप लगाएका छन् ।

बागलुङमा आइतबार आयोजित नेपाली कांग्रेसको आमसभालाई सम्बोधन गर्दै खतिवडाले बिखण्डनवादी सीके राउतको सहयोगले ओलीको सरकार धेरै नटिक्ने बताए ।

‘सरकार टिकाउन ओजीज्यूले बिखण्डनकारी सीके राउतको सहयोग लिनुभएको छ’, उनले भने, ‘यो सरकार दुई वर्षभित्र ढल्छ । ओलीको आफ्नै कारणले सरकार ढल्ने देखिएको छ ।’

कांग्रेसका नेता खतिवडाले ओलीको सरकार ढाल्न माधवकुमार नेपालले माझी खोज्दै हिँडेको बताए । ‘खड्गप्रसाद ओली, पुष्पकमल दाहाल प्रचण्ड र सीके राउत एउटै हुन् । उनीहरु एउटै ड्याङको मुला हुन्’, उनले भने, ‘उनीहरु सबै बिखण्डनकारी हुन् ।’

निर्मला पन्तका हत्यारा सिंहदरबारभित्रै रहेको कांग्रेसका युवा नेता खतिवडाले दाबी गरे । ‘निर्मला पन्तका हत्याराहरु सिंहदरबारभित्र तपाई गृहमन्त्रीकै आसपास छन् । निर्मलाका दोषी तपाईकै नातागोता हुन्’, उनले भने, ‘गृह मन्त्रालयभित्रै रहेका निर्मलाका हत्याराहरुलाई कारबाही गर्नुस् ।’

नेपाली कांग्रेसले कम्युनिस्टहरुले बनाउन नसकेको संविधान बनाएर देखाएको खतिवडाले बताए । उनले वीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन कांग्रेसले नै गरेको भन्दै आफू हारेर पनि अरुलाई जिताएको बताए ।

प्रतिकुलता हुँदाहुँदै कांग्रेसले सबै अट्ने संविधान बनाएको खतिवडाले बताए । उनले संविधानको रक्षा कांग्रेसले गर्नुपर्ने बताए ।

भारतीय प्रधानमन्त्रीको जस्तै ड्रेस लगाएर प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको धज्जी उडाएको उनले बताए । नेता खतिवडाले जनकपुरमा ओलीको राष्ट्रवादको धज्जी उडेको बताए ।

कांग्रेसका नेता खतिवडाले विदेशी नेताहरुलाई माला लगाएर कार्यक्रम शुरु गर्ने कम्युनिस्टहरु कहिल्यै पनि राष्ट्रवादी नहुने बताए ।

‘कांग्रेसले कार्यक्रम गर्दा आफ्नै देशका नेता वीपी कोइरालालाई माला लगाएर गर्छ’, उनले भने, ‘कम्युनिस्टहरुले चुस्स दाह्र भएका विदेशी नेताहरुलाई माला लगाएर कार्यक्रम गर्छन् । कम्युनिस्टहरु भनेका ढोँगी हुन् । उनीहरु कदापि राष्ट्रवादी हुँदैनन् ।’

कुनै बेला माओवादीलाई बाँदरको संज्ञा दिने ओलीले अहिले तिनै बाँदरहरुलाई क्याबिनेटमा राखेर काम गरेको भन्दै खतिवडाले वर्तमान कम्युनिस्ट सरकारले केही पनि काम गर्न नसकेको बताए ।

‘कांग्रेसलाई प्रचण्डको छोरी बोक्यो भन्ने ओलीले अहिले बाउआमालाई नै बोक्नुभएको छ’, उनले भने, ‘ओलीजी प्रचण्डलाई बोकेर बैतरणी तर्दै हुनुहुन्छ ।’

Published : Sunday, 2019 March 10, 4:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया