कांग्रेसका नेता र तरुणहरूले काठमाडौं छाडे, घेराबन्दीमा कम्युनिस्ट सरकार

काठमाडौं । दुई तिहाइ बहुमतको बलियो कम्युनिस्ट सरकारका कारण मुलुकमा बेथिति, अराजकता भएको भन्दै विरोध भैरहेका बेला नेपाल तरुण दलले आफूलाई संगठन सुदृढीकरण र सरकारविरुद्धका गतिविधिलाई तिब्र बनाएको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले आफूहरूलाई जिल्ला केन्द्रित बनाएका छन् । अध्यक्ष बस्नेत कांग्रेस सभापति शेरबहादुर देउवासँग विभिन्न जिल्लाहरूमा सँगै गएका छन् ।

महासचिव शाहीले पनि आफूलाई सोमबारबाट जिल्ला केन्द्रित बनाउँदै छन् । शाही सोमबार तरुण दलको कार्यक्रममा सहभागी हुन चितवन प्रस्थान गर्दै छन् ।

चितवनको कार्यक्रम सम्पन्न भएपछि महासचिव शाही फागुन २८ गते मंगलबार नवलपरासी र बुटवलको कार्यक्रममा सहभागी हुनेछन् ।

फागुन २९ गते अर्घाखाँची र फागुनको ३० र ३१ गते कपिलवस्तु जिल्लामा हुने कांग्रेस र तरुण दलका कार्यक्रमहरूमा सहभागी हुनेछन् ।

महासचिव शाहीले कम्युनिस्ट सरकारको अधिनायकवाद विरुद्ध आन्दोलन गर्ने बेला आएकाले राजधानीमा भन्दा जिल्ला केन्द्रित भई नेता तथा कार्यकर्ताहरूलाई संगठित गर्नुपर्ने बेला आएको बताए ।

‘कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन अति आवश्यक भैसकेको छ’, उनले भने, ‘संविधान विपरितका गतिविधि हुन थालेका छन् । कम्युनिस्ट सरकारले बिखण्डनकारीलाई साथ दिएको छ । मुलुकको राष्ट्रियता र स्वतन्त्रता बचाउन युवा तरुणहरूको काँधमा जिम्मेवारी आएको छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा.शेखर कोइरालासहितका नेताहरू पार्टी कार्यक्रममा सहभागी हुन राजधानी बाहिरका विभिन्न जिल्लाहरूमा पुगेका छन् ।

जिल्लामा हुने सानाभन्दा साना कार्यक्रमहरूमा सहभागी भएर कांग्रेस नेताहरूले गाउँका कार्यकर्ताको मनोबल उच्च बनाउँदै आएका छन् ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले संविधान उल्लंघन गर्नेदेखि अधिनायकवादको सुरुवात गरेको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।

बिखण्डनकारी सीके राउतसँग प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापाले विवादास्पद ११ बुँदे सहमति गरेपछि चौतर्फी आलोचना भएका बेला कांग्रेस र तरुण दलका नेताहरूले आफूलाई जिल्ला केन्द्रित बनाएका हुन् ।

नेपाल तरुण दलका महासचिव शाहीले बिखण्डनकारी सीके राउतलाई जेलमा थुन्नुपर्नेमा ११ बुँदे सहमति गरेर ओली सरकारले राष्ट्रिय हिरो बनाएको भन्दै विरोध गरिसकेका छन् ।

Published : Sunday, 2019 March 10, 7:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया