कांग्रेसले ओली सरकारको घाँटी च्याप्प समाउने

नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख विपक्षी दलले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका गलत कुराहरूमा घाँटी समाउनुपर्ने बताएका छन् ।

नवलपुर जिल्लाको देवचुली नगर समितिले सोमबार बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले ओलीको सरकारले बिखण्डनको नारा लगाउँदै आएको सीके राउतसँग गरेको ११ बुँदे सहमति ठीक नभएको बताए ।

‘जेलबाट छुटेको अर्को दिन ओली, प्रचण्ड र सीके राउतको ‘चोचोमोचो’ मिल्यो’, उनले भने, ‘सीके राउतसँग सरकारले गरेको बुँदाहरू ठीक छैनन् । सुन्दा राम्रो लागे पनि त्यसको आन्तर्वस्तुहरू देशलाई नोक्सानी हुने खालका छन् ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले ११ बुँदाको भित्री कुराहरू नबुझेर हावाको तालमा प्रतिक्रिया दिएको भन्दै पौडेलले आपत्ति प्रकट गरे । ‘प्रमुख विपक्षी दलको नेताले कुरा बुझेर मात्रै बोल्नुपर्छ । राष्ट्रघाति सम्झौता गर्नेहरूलाई घाँटीमा समाएर कठघारामा उभ्याउनुपर्छ । प्रतिपक्षले अहिले हो भूमिका खेल्ने’, उनले भने, ‘सीके राउतले हिजो जनकपुरमा के–के गरे ? त्यो कुरालाई प्रमुख विपक्षी दलले हेर्ने कि नहेर्ने ? यस विषयमा कुरा उठाउने कि नउठाउने ?’

वरिष्ठ नेता पौडेलले प्रमुख विपक्षी दलको नेताको हैसियतले ओली सरकारको घाँटीमा समाएर बिखण्डनकारी सीके राउतसँग भएको सम्झौताका बारेमा जवाफ माग्न सुझाव दिए ।
‘सीके राउतसँग सरकारले गरेको सम्झौता झट्ट सुन्दा त सम्झौता राम्रो भयो भन्ने लाग्छ । सहमतिको भाषा मैले पनि हेरे । तर, बिखण्डनकारी कुरा गर्दैन भनेर कतै लेखेको छैन’, पौडेलले भने, ‘सीके राउतले बिखण्डनतिर लाग्दिन भनेको छैन । बैधानिकता तरिकाले बिखण्डनको कुरा अगाडि बढाउँछु भनेको छ ।’

कांग्रेसका वरिष्ठ नेता पौडेलले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति राष्ट्रघाति भएको बताए । ‘जनमत संग्रहबाट हतियार देश टुक्र्याउँछ भनेको छ । हतियार नउठाई शान्ति पूर्ण तरिकाले देश टुक्राउँछु भनेका छन् । ओलीकै पार्टीका नेता भीम रावलले राष्ट्रघात भएको भनेका छन्’, उनले भने, ‘केपी ओली राष्ट्रवादको नाराले जनतालाई झुक्काएर सत्तामा पुग्ने । एउटै मञ्चमा बिखण्डनकारी सीके राउतसँग ओली र प्रचण्ड बसेर देश टुक्र्याउनेलाई बैधानिकता दिने ? यो कार्य नेपाली कांग्रेसलाई मान्य छैन । मन्दैनौं ।’

सीके राउत मूलधारको राजनीतिमा आएको हो वा होइन केपी ओलीको कम्युनिस्ट सरकारलाई कांग्रेसले कठघारामा उभ्याएर सोध्नुपर्ने नेता पौडेलले बताए । उनले भने, ‘यही बेला हो कांग्रेसले राष्ट्र र जनताको पक्षमा काम गर्ने ।’

कम्युनिस्टहरूका कारण देशमा राष्ट्रलाई माया गर्ने नेताहरूको खाँचो रहेको उनले बताए । ‘ओली, प्रचण्ड र सिके राउत एउटै हुन्’, उनले भने, ‘आज देशलाई देशभक्त नेता चाहिएको छ । जनता झुक्काउने नेताहरू चाहिएको छैन ।’

प्रधानमन्त्री ओलीले वाइड बडी घोटालाका दोषी भनेर संसदको सार्वजनिक लेखा समितिले ठहर गरेका व्यक्ति रविन्द्र अधिकारी दोषी छैनन् भनेर दिएको अभिव्यक्तिको कांग्रेसका वरिष्ठ नेता पौडेलले कठोर आलोचना गरे । ‘केपी ओली सर्वोच्च अदालत हो ? केपी ओली अख्तियारको प्रमुख हो ? वाइड बडी जहाज खरिदमा चार अर्ब ३५ करोड घोटाला गर्ने रविन्द्र अधिकारीलाई सफाइ दिने ओली को हो ?’, जंगिदै उनले भने, ‘केपी ओलीलाई सोध्न चाहन्छु । तपाई सर्वेसर्वा हो ? संसदमा तपाइै पार्टीको बहुमत छ । संसदले भनेको कुरा नमान्ने ?’

वरिष्ठ नेता पौडेलले जिम्मेवार पदमा बसेकाहरूलाई फटाहा कुरा नगर्न चेतावनी दिए । ‘सत्यलाई लुकाउन खोज्ने नै अधिनायकवाद हो । ओलीले असत्यलाई साथ दिएका छन्’, उनले भने, ‘यस्तै खालका अधिनायकवादविरुद्ध संघर्ष गर्ने बेला आएको छ । तपाई गाउँ र शहरका कार्यकर्ताहरू संगठित हुने बेला आएको छ ।’

Published : Monday, 2019 March 11, 11:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया