‘एक घर एक तरुण’ बनाउने अभियानमा छौँः महासचिव शाही

सौराहा । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले गुटबन्दीभन्दा पनि संगठनको कार्यक्रममा लाग्नुपर्ने बताएका छन् ।

चितवनको रत्ननगर नगरपालिकाको सौराहास्थित चराचोकमा नेपाल तरुण दल नगर समितिले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले अहिलेको अवस्थामा गुटबन्दीलाई भन्दा पनि संगठन निर्माणको कामलाई जोड दिनुपर्ने बताए ।

‘नेपाल तरुण दलले दुई वटा राष्ट्रियस्तरका कार्यक्रम गरेको छ । हामीले गुटको बेवास्ता गरेर तरुण दल र कांग्रेसका लागि कार्यक्रम गरेका छौं’, उनले भने, ‘प्रदेशस्तरीय सात वटा कार्यक्रम गरेका छौँ । प्रशिक्षणहरु गरेका छौँ । जिल्ला अध्यक्षहरुको भेला र बैठक गरेका छौँ ।’

तरुण दलमा गुटको प्रभाव नरहेको उनले दाबी गरे । उनले भने, ‘हामीले गुटको लागि मात्रै काम गरेको भए दुई वर्षभित्र यति धेरै कार्यक्रम गर्न सक्ने थिएनौँ । अब तपाई तरुण युवाहरुले नेपाल तरुण दल र नेपाली कांग्रेसका लागि काम गर्नुपर्छ । संगठन गर्नुपर्छ ।’

वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको बताएका तरुण दलका महासचिव शाहीले भने, ‘सरकारले बिखण्डनकारी सीके राउतलाई वार्ताका नाममा देश टुक्र्याउने बैधानिकता दिएको छ । जेलमा हालेर कारबाही गर्नुपर्ने व्यक्तिलाई राष्ट्रिय हिरो बनाइएको छ । राष्ट्रवादी तरुण युवाहरुलाई मान्य छैन ।’

महासचिव शाहीले नेपाल तरुण दलले आगामी दिनमा एक घर एक तरुण भन्ने नाराका साथ अभियान चलाउनेबारेमा गृहकार्य गरिरहेको बताए । उनले भने, ‘प्रत्येक घरमा एकजना तरुण दलको सदस्य बनाउनुपर्छ । सबैसँग आग्रह गरेर तरुण दललाई देशभरि बनाउनुपर्छ ।’

कार्यक्रममा नेपाल तरुण दल चितवनका अध्यक्ष राजु तामाङ, रत्ननगर नगरपालिकाका अध्यक्ष राजान तामा, तरुण दल चितवनका उपाध्यक्ष निरञ्जन सुवेदी, सचिव प्रल्हाद उप्रेती, क्षेत्रीय सभापति रमेश पोखरेल, बुद्धि गुरुङ, राजकुमार गुरुङ, दीपक पौडेललगायतका तरुण नेताहरुले गाउँबाट तरुण दललाई संगठनमा माथि उठाउनुपने बताएका थिए । उनीहरुले केन्द्रीय नेतृत्वले जिल्लामा संगठन गर्नका लागि निर्देशनहरु बेलाबेलामा दिनुपर्ने बताएका थिए ।

Published : Monday, 2019 March 11, 7:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया