विवादास्पद ११ बुँदेबारे कम्युनिस्ट सरकारले स्पष्टीकरण दिनुपर्छ : राणा

स्याङजा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कम्युनिस्ट सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिले अन्यौलता सिर्जना गरेको भन्दै यसबारे स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

राणाले सहमतिमा उल्लेखित जनअभिमत शब्दलाई सहमतिकर्ता दुई पक्षले आफूअनुकूल व्याख्या गरेकोले दुई पक्षसँगै बसेर सहमतिबारे स्पष्ट पार्न माग गरे ।

‘सहमति भएको दुई दिन नबित्दै सीके राउतले मधेशबारे जनमत संग्रह हुने भनेर भनिरहेका छन्’, उनले भने, ‘तर सरकार जनमतसंग्रह होइन भनिरहेको छ, यथार्थ के हो, सहमतिमा हस्ताक्षरकर्ता दुबै सँगै बसेर जनतालाई स्पष्ट पार्नुपर्छ ।’

कांग्रेसका युवा नेता राणाले मुलुक बिखण्डनको अभियान चलाइरहेको समूह अखण्डताका पक्षमा आउनु सकारात्मक भएपनि सत्तारुढ दलकै नेताहरुको विरोधले सहमतिबारे आशंका उब्जिएको बताए ।

‘कतै सरकारले आमनागरिकलाई गुमराहमा राखेर मधेशमा जनमतसंग्रह नै गर्न खोजेको त होइन’, उनले भने, ‘यदि त्यसो हो भने हाम्रा लागि स्वीकार्य हुन सक्दैन । कांग्रेस मुलुकको अखण्डताका लागि जस्तोसुकै लडाइँ लड्न पनि तयार छ ।’

नेता राणाले मुलुकको भौगोलिक विभाजनका लागि जनमतसंग्रह हुनै नसक्ने दावी गरे ।’ विश्वका अन्य मुलुकमा पनि पृथकतावादी अभियान नचलेका होइनन् तर कँही पनि जनमतसंग्रह हुने कुरालाई स्वीकार गरिएको छैन, सरकारले यस्ता गतिविधिमा संलग्नलाई निरुत्साहित गर्नैपर्छ’, उनले भने ।

Published : Tuesday, 2019 March 12, 9:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया