कम्युनिस्टसँग भिड्न तरुण दलले पूर्णता पाउनुपर्छः भुपेन्द्रजंग शाही

चितवन । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिस्ट सरकारको अधिनायकवाद हाबी भैरहेका बेला तरुण दललाई पूर्णता दिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

चितवनको भरतपुरमा मंगलबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव शाहीले पूर्णता नपाएको कार्यसमितिबाट कम्युनिस्टहरुको अधिनायकवादविरुद्ध संघर्ष गर्न नसकिने बताए ।

‘कम्युनिस्टहरुको अधिनायकवाद सशक्त रुपमा अगाडि बढेको छ । भ्रष्टाचार बढेको छ । बिखण्डनकारीलाई मान्यता दिने काम भएको छ’, उनले भने, ‘यो अराजकता र बेथितिलाई रोक्न सक्ने नेपाल तरुण दल मात्रै हो । अब तरुण दललाई कांग्रेसको नेतृत्वले विशेष ध्यान दिनुपर्छ ।’

नेपाली कांग्रेसको नेतृत्वले तरुण दललाई पूर्णता नदिने हो भने आफू महासचिव पदमा बसीरहने कि नरहने भन्ने प्रश्न उठ्न थालेको बताए ।

‘नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिले पूर्णता नदिने हो भने म पनि महासचिव पदमा बस्ने कि नबस्ने भनेर प्रश्न उठेको छ । मलाई पनि नैतिक दवाव परेको छ’, उनले भने, ‘कांग्रेस नेतृत्वले नेपाल तरुण दलको कार्यसमितिलाई छिटोभन्दा छिटो पूर्णता दिनुपर्छ ।’

नेपाल तरुण दल गठन भएपछि चार जनाको कार्यसमिति मात्रै रहेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद रहेका बेला तरुण दलका महासचिव शाहीले केन्द्रीय कार्यसमिति पूर्णताका लागि दवाव दिएका छन् ।

कम्युनिस्ट सरकारले बिखण्डनकारीलाई ज्वाइँ पालेजस्तै गरेर सहमति गरेको भन्दै विरोध गरेका महासचिव शाहीले भने, ‘तरुण दलले देश टुक्र्याउँछु भन्नेलाई मान्यता दिनु राष्ट्रघात हो । तरुण दल यो सहमतिमा रहेका प्रावधानको विरोध गर्छ ।’

Published : Tuesday, 2019 March 12, 9:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया