सीकेसंग सहमति गरेर कम्युनिस्ट सरकारले देशलाई धाेका दियाे: देउबा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देश टुक्र्याउने गतिविधिसहित जनमत संग्रह माग्दै हिँड्नु कांग्रेसका लागि सैह्य नभएको बताए । सम्झौतामा भएका बुँदा राष्ट्रघाती रहेको उनको टिप्पणी थियो ।

‘सिके राउतले जनमत संग्रह गर्ने र देश टुक्राउने कुरा गर्छन् हामी यसलाई कसरी स्वीकार्न सक्छौं र ?’ देउवाले भने, ‘यस विषयमा न प्रधानमन्त्रीको खण्डन आउँछ, जनकपुरमा जनमत संग्रहको नारा घन्किछ ।’

फौजदारी संहिताका नाउँमा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको उनले बताए । उनले भने, ‘प्रजातन्त्रमा प्रेस स्वतन्त्रता भएन भने अधिनायकवादतर्फ जान्छ ।’

आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको टिप्पणीसमेत उनले गरे ।

‘सरकारले विभिन्न नाउँमा संघीयतालाई असफल बनाउन लागिरहेको छ । यो कांग्रेसका लागि मान्य हुँदैन,’ उनले भने ।

Published : Wednesday, 2019 March 13, 7:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया