राष्ट्र बैंकलाई ढाँट्दा नविल बैंकको विश्वास गुम्दै, लगानीकर्ताहरु आक्रोशित

काठमाडौं । राष्ट्र बैंकको दबाबका कारण बल्लतल्ल वार्षिक साधरणसभा सम्पन्न गरेको नविल बैंकका लगानीकर्ताहरु आक्रोशित बनेका छन् ।

साधरणसभाका दिन सोमबार लगानीकर्ताहरुले साधरणसभा ढिलो हुनुको कारण के हो ? भन्दै बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलसामु प्रश्न तेर्साएका थिए । तर, पौडेल भने नाजवाफ बने ।

गत वर्ष २०७४ असोज १० गते वार्षिक साधारणसभा गरेको नबिल बैंकले यसपटकको साधारणसभा ढिलो गरेको थियो । नबिल बैंकले समयमै वार्षिक साधारणसभा गर्न नसक्नुको कारण भने साधरणसभामै खुलेको छ । राष्ट्र बैंकले नबिल बैंकको एजीएमका लागि स्वीकृती नदिंदा ढिला भएको थियो ।

राष्ट्र बैंकले नबिल बैंकलाई विपन्न वर्गमा प्रवाह गरेको कर्जा रकमको फेहरिस्त पेश गर्न निर्देशन दिएको थियो । तर, नविलले झुठो विवरण पेश गरेका कारण राष्ट्र बैंकले एजीएम रोकेको थियो ।

नेपालको नम्बर १ बैंक भनेर प्रचार गर्ने तर झुटो विवरण पेश गर्ने नविललाई सजाय स्वरुप राष्ट्र बैंंकले एजीएमको स्वीकृति फागुन अन्तिममा मात्रै दिने निर्णय गरेको थियो ।

स्रोतका अनुसार झुटो विवरण पेश गरेका कारण नविलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई राष्ट्र बैंकले हकारेको थियो । नबिल बैंकले राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसारको विपन्न वर्ग कर्जा प्रवाह गर्न सकेको छैन ।

वार्षिक ४० हजारभन्दा कम आम्दानी हुनेलाई विपन्न वर्गमा राखिने गरिएको छ । तर, उसले त्यो आम्दानीभन्दा कम हुनेलाई त्यस्तो कर्जा लगाएको छैन । धनी सभ्रान्त परिवारलाई नै विपन्न वर्ग भन्दै कर्जा प्रवाह गरेका कारण राष्ट्र बैंकले नविललाई साधरणसभा गर्न अंकुश लगाएको थियो ।

सबैभन्दा अचम्मको कुरा त के छ भने नविल बैंकमा ५१ प्रतिशत सेयर रहेको विनोद चौधरीको समूहले नै राष्ट्र बैंकलाई झुक्याउँदै आएको छ ।

फोब्सको सूचीमा अर्वपति रहेका चौधरीले नविल बैंकबाट वार्षिक झण्डै १ अर्ब रकम लाभांशबापत लाँदै आएका छन् । यसरी फोब्सको अर्वपति सूचीमा परेका चौधरीले नै राष्ट्र बैंकलाई झुक्याएर आफ्नो मान प्रतिष्ठालाई नै तल झार्ने काम गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2019 March 14, 9:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया