उपेन्द्र र पुष्पाबीच कसरी मिल्यो स्वार्थ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री र सचिवको हिमचिम बढेको छ । कमाउ धन्दामा लागेका स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सचिव पुष्पा चौधरीबीच कुरा मिलेको छ ।

कुरा नमिल्दा मन्त्रालयबाट हटाउन ठूलो जोडजुलुम गरेका मन्त्री यादवले अहिले सचिव चौधरीलाई रुचाएको स्वास्थ्य मन्त्रालयभित्रै चर्चा छ । मन्त्री यादव र सचिव चौधरीबीच एकाएक कसरी कुरा मिलेको हो खुल्न सकेको छैन ।

स्रोतका अनुसार मन्त्री यादव र सचिव चौधरीबीच सरुवा, बढुवा, बजेट, कर्मचारी खटनपटन आदिका विषयमा मिलेर काम गर्ने सहमति भएको छ । अबैध रुपमा आउने अर्थलाई सचिव चौधरीले मन्त्री यादवसम्म पु¥याउने सहमति भएको एक उच्च कर्मचारीले बताए ।

कमिशनमा कुरा नमिलेपछि मन्त्री यादव र सचिव चौधरीबीच विवाद भएको थियो । सचिव चौधरीले मन्त्री यादव खुसी हुने गरेर मोटो रकम बुझाएपछि सहमति भएको सचिव निकट स्रोतले बतायो । कर्मचारीहरू सरुवामा मन्त्री यादवले मोटै रकम उठाएको आरोप छ । अब मन्त्री यादवले यी विषयहरूमा सिधै हात हाल्ने छैनन् ।

ती सबै काम सचिव चौधरीले गर्नेछिन् । मन्त्री यादव र सचिव चौधरीबीच बिग्रिएको सम्बन्ध एकाएक सुध्रिएकोमा धेरै कर्मचारीहरू चकित परेका छन् । कुरा नमिलेकै कारण सचिव चौधरीलाई मन्त्री यादवले प्रधानमन्त्री कार्यालयको जगेडा सचिवमा लगेर थन्काएका थिए । मन्त्रीसँग सिधै टसल लिएकी चौधरीले सर्वोच्चमा मुद्दा लगेर आफ्नो गुमेको सचिव पद लिएरै छाडिन् । त्यति मात्रै होइन मन्त्री यादवलाई चौधरीले फकाएरै छाडिन् ।

केही दिन अगाडि मन्त्रालयमा आयोजित एक वर्षको समीक्षा पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले मन्त्री र सचिवबीच बिग्रिएको सम्बन्ध कसरी सुध्रियो भनेर प्रश्न गरेका थिए । यस विषयमा मन्त्री यादवले जवाफ दिएनन् । बरु प्रश्न सोध्ने पत्रकारलाई मन्त्री यादवले तपाई त नेता हुनुहुँदो रहेछ भनेर टारिदिए । त्यति मात्रै होइन मन्त्री यादवले ती पत्रकारलाई आफ्नो कार्यकक्षमा आउन निम्तो पनि दिएका थिए ।

यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सबैतिर लथालिङग भएको छ । यादवमाथि मन्त्रालयमा समन्वय गर्न नसकेको आरोप छ । सचिव चौधरीले पनि काम गर्नेभन्दा पनि कता कता कमिशन आउँछ भनेर फाइल गनेर बस्ने गरेको आरोप छ । सचिव चौधरीले मन्त्री यादवलाई कमिशन बुझाउनु पर्छ भन्दै फाइल गर्ने शाखा र विभागका प्रमुखहरूलाई आतंकित तुल्याएकी छिन् ।

मन्त्रालयमा दुई जना सचिव छन् । तर, सचिव चौधरीलाई मन्त्री यादवले सबै जिम्मेवारी दिएका छन् । मन्त्री यादवको निगाहले सचिव चौधरी पावरफुल बनेकी छिन् । मन्त्रीलाई कसरी खुसी बनाउन सकिन्छ भनेर सचिव चौधरीको दिन जाने गरेको छ ।

मन्त्री र सचिवबीच स्वार्थ मिलेपछि विरोधीहरू पनि चकित छन् । उनीहरूले मन्त्रालयभित्रका समस्या समाधान गर्न सकेका छैनन् । चिकित्सकहरूलाई पनि चिड्याएका छन् । सरकारी अस्पतालहरूको सुधार पनि गर्न सकेका छैनन् ।
यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2019 March 14, 9:26 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया