जनता ढाँट्ने कम्युनिस्टहरूविरुद्ध गगन आक्रामक, खोजे गाउँका कार्यकर्ताको साथ

सिन्धुली । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले माओवादीको उदण्डता र एमालेको लोभले गर्दा कम्युनिस्टहरूले संविधान बनाउन नसक्दा जनताले कांग्रेसलाई संविधान बनाउने जिम्मेवारी दिएको बताएका छन् ।

सिन्धुली जिल्लाको मरिण गाँउपालिकामा नेपाली कांग्रेसले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै युवा नेता थापाले कम्युनिस्टहरूले बनाउन नसकेको संविधान कांग्रेसले तोकिएको समयभित्र बनाएर देखाएको बताए । ‘मुठ्ठी कसेर आएका कम्युनिष्टले संविधान दिन सकेन’, उनले भने, ‘माओवादी उदण्ड थियो, एमाले लोभी थियो । त्यसैले संविधान बनेन । कांग्रेसले संविधान दियो ।’

थापाले भने, ‘कांग्रेसले यदि संविधान सभामा माओवादीलाई नल्याएको भए यतिबेला विप्लव मात्र हैन प्रचण्ड पनि जंगलतिरै भेटिन्थे । त्यसैले कांग्रेस आफू हा¥यो देश हार्न दिएन ।’
आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘देश चलाउने चालक (प्रधानमन्त्री) खराब भएकाले हामी यतिबेला गाडीको चालक हैन खलासी भएका छौं । सचेत भएर अप्ठ्यारो बाटो आए रोक भन्छौ चल्नुपर्ने बाटो आएपछि अगाडि बढ भन्छौँ ।’

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली छोटेराजा बनेको कांग्रेस नेता थापाले आरोप लगा । ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई यतिबेला राजा जस्तै बन्न मन लागेको छ । त्यसैले उहाँले संसदमा मलाई जिस्काउनेलाई जेल हाल्न पाउनुपर्छ भन्ने विधेयक ल्याउनु भएको छ ।’

संघीयताको मर्म आजको संघीय सरकारले बुझ्नै नसकेको उनले बताएका छन् । ‘राष्ट्रपतिको व्यवहारले गणतन्त्रप्रति असन्तुष्ट बढेको छ’, उनले भने, ‘त्यसमा गल्ती राष्ट्रपतिको छैन राष्ट्रपति चलाउने सरकारको दोष छ ।’

कम्युनिस्टहरूको समृद्धिको नाराको कांग्रेस नेता थापाले जनतालाई आँखामा छारो हाल्न ल्याएको बताए । ‘वीपी कोइरालाको समृद्धका सपनामा नेपाली जनता थिए । तर, केपी ओलीको समृद्धको सपनामा रेल, पानीजहाज, भ्युटावर छ ।’

जमिनमा रहेका जनतालाई नदेखेपछि प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र झापामा ठूलो भ्युटावर बनाउन लागेको बताए । ‘प्रधानमन्त्री ओलीजी आउनुस् जनताको दुःख के छ एक पटक गाउँमा पुगेर हेर्नुस्’, उनले भने, ‘जनताले पानीजहाज र रेल होइन गाउँको सडक पिच भएको हेर्न चाहन्छ । गाउँमा शिक्षा र स्वास्थ्य चाहन्छ । शान्ति सुरक्षा चाहन्छ ।’

उनले कांग्रेस कमजोर भएपनि कम्युनिस्टहरू जस्तो गैरजिम्मेवार नहुने बताए । ‘कांग्रेस कमजोर भएको होला । तर गैरजिम्मेवार भएको छैन’, उनले भने, ‘के कांग्रेसले रेलिङ भाँचेको छ ?’ केन्द्रीय सदस्य थापाले सम्बोधन गरिरहँदा कांग्रेसका कार्यकर्ताहरू हलचल नगरेर सुनेका थिए ।

उनले लगानी सम्मेलनको तयारी राम्रोसँग गर्न नसकेको भन्दै कम्युनिस्ट प्रधानमन्त्री ओलीका विरोध गरे । ‘विदेशी साहुमहाजन हाम्रो माया लागेर आउने हैन नाफा कमाउन आउने हुन् । यहाँको कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीको मुठ्ठी देखेर विदेशी लगानीकर्ता आउन डराउँछन् ।’

नेपाली कांग्रेसका विगतका सरकारहरूले जम्मा गरेको पैसामा कम्युनिस्टहरू रज्याइँ गरेको भन्दै उल्टै कांग्रेसलाई गर्ने गरेकोमा थापाले आक्रोश व्यक्त गरे । ‘कम्युनिष्टले आफ्नो घरको सम्पत्ति बेचेर पैसा बाँडेको हैन । गिरिजाप्रसाद कोइरालाको पहिलो कार्यकालमा खुत्रुक्के जम्मा गरेकाले बाँड्न पाएका हुन्’, उनले भने, ‘कांग्रेसले सत्ता सम्हाल्दै गदौ ढुकुटी रित्तो थियो । विदेशी ऋण तिरेर कांग्रेसको सरकारले ढुकुटी भरेर राखेको थियो । उद्योगधन्दा खोलेर र राजश्वले गर्दा १२ अर्बबाट ३६ अर्ब पुगेको थियो, त्यतिबेला ।’

‘यो कम्युनिस्ट सरकारलाई बाँडन मात्र आउँछ । खुत्रुक्केमा पैसा जम्मा गर्न आउँदैन । त्यसैले सोधौ यो सरकारले कतिवटा उधोग खोल्यो ?’, उनले प्रश्न गर्दै भने ।

एमाले र माओवादीबीच भएको पार्टी एकीकरणलाई लोभ र डरको संज्ञा दिए । ‘स्थानीय चुनावपछि ओली प्रधानमन्त्री हुन नसक्ने कुरासँग डराए प्रचण्ड सांसद बन्न नसक्ने कुरादेखि डराए’, उनले भने, ‘त्यसैले सिद्धान्तहीन भएर बिना छलफल एकता भयो । त्यसपछि मिल्न बाध्य भएका हुन् ।’ कांग्रेस नेता थापाले कम्युनिस्ट प्रधानमन्त्री ओली त्यसैले बरालिएर अहंकारी भएको बताए ।

उनले प्रधानमन्त्री ओली भ्रष्टाचारीलाई हेर्न चाहन्न भन्ने गरेको प्रशंग कोट्याउँदै भने, ‘देशमा उहाँको जानकारी बिना यत्रो भ्रष्टाचार कसरी हुनसक्छ ?’

कांग्रेसले आफू निर्वाचित भएका ठाउँमा सु–सज्जित भएर विकासतर्फ लाग्न सक्नुपर्ने थापाले बताए । ‘कांग्रेसले भन्नुपर्छ हामी भूमिहीन पार्टी हैन तर, जसको भूमि छैन त्यसलाई जग्गा दिनुपर्छ भन्ने पार्टी हो’, उनले भने । ‘पूर्वएमाले र पूर्वमाओवादीलाई कांग्रेसले भन्दिनुस् तिम्रो पार्टी जमिन मुनी काउलीको जरा र जमिनमाथि आलुको पात जस्तो रहेछ । जुन खान मिल्दैन’

बाटोले मात्र समृद्धि नआउँने उनले बताए । ‘वीपीले भन्नुभयो थियो बाटोमा तिम्रो लागि सामान ल्याएर हैन तिम्रो उत्पादन लिएर गयो भने समृद्धि आएको हो’, थापाले भने, ‘कांग्रेसको लागि चुनाव जित्ने मौका आउला तर, आजको नेपालको तन्नेरीको लागि फेरिफेरि मौका आउँदैन त्यसैले अब युवा पुस्ता देशलाई धनी बनाउनेतर्फ लाग्नुपर्छ ।’

कांग्रेसको तागत गाउँका कार्यकर्तासँग रहेको युवा नेता थापाले बताए । ‘कांग्रेसको तागत सिंहदरबार हैन कांग्रेसको तागत तपाईहरू कर्मठ कार्यकर्ता हो । जसले यसरी संगठनको लागि मरिमेट्नु भएको छ ।’

Published : Sunday, 2019 March 24, 2:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया