रामचन्द्र पौडेल सहभागी कार्यक्रममा उर्लियो जनसागर, चारतारे झण्डाको शान बढ्यो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको एकताको सन्देश लिएर आफू मधेश आएको बताएका छन् ।

सर्लाहीको मलंगवामा आइतबार आयोजित आमसभालाई सम्बोधन गर्दै पौडेलले पार्टीमात्र होइन मधेश र पहाडको एकतालाई बलियो बनाउनका लागि आफूले भूमिका खेल्ने बताए ।

‘पार्टीभित्रको एकताको सन्देश लिएर म मधेश आएको हुँ’, उनले भने, ‘राजनीतिक जीवनमा नेपाल र नेपालीले भोगेका समस्याबाट परिचित भएको छु । मधेशप्रति कांग्रेस अनुदार भयो भन्नेहरु छन् । मलाई याद छ ।’

नेता पौडेलले भने, ‘म मन्त्री भएको बेलामा लाखौँ मेट्रिकटन खाद्यन्न लिएर मधेश आएको छु । झापादेखि कञ्चनपुरसम्म पुगेको छु । मधेशवासीको सुःख दुःखमा साथ दिनका लागि म मधेश आएको हुँ ।’

वरिष्ठ नेता पौडेलले मधेशमा कांग्रेसले थुप्रै योजना लिएर आएको बताए । ‘मधेश आन्दोलन चलिरहेका बेलामा पनि वार्ता गर्न म मधेश आएको थिए’, उनले भने, ‘कांग्रेस मधेशी जनताबीच सम्बन्ध प्रगाढ छ । लोकतन्त्रको दियो मधेशबाट बलेको हो । मधेश लोकतन्त्र र नेपाली कांग्रेस एक अर्कामा परिपुरक हुन् । संविधानमा मधेशी जनताको माग भनेको मधेशमा बसेर सम्पूर्ण हैसियत होस् भन्ने चाहेका हुन् ।’

कांग्रेसका वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा बनेको संविधानले थुप्रै अधिकार दिएको बताए । ‘हुलाकी राजमार्ग नेपाली कांग्रेसका पालामा भएको हो’, उनले भने, ‘चुरेको संरक्षण होस् भन्ने हामीले चाहेका छौँ । मधेशको हितका लागि चुरे संरक्षण आवश्यक छ ।’

कांग्रेस नेता पौडेलले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पानीजहाज र रेलका कुरा गरेर जनतालाई धोका र झठको खेती गरेको बताए । ‘कम्युनिस्ट सरकारका प्रधानमन्त्री प्रधानमन्त्री खड्गप्रसाद आलीले पानीजहाज भन्दै हुनुहुन्छ । तर हामी मधेशका जनतालाई पानी चाहिएको छ भन्दछौँ । प्रधानमन्त्री पानी जहाजभन्दै हिड्नुभएको छ । मधेशमा सिचाइँका लागि पानी आवश्यक छ ।’

उनले मधेशमा सिचाइँको व्यवस्था गरेर कृषि क्रान्ति गर्न सके मात्रै मुलुक आत्मनिर्भर बन्ने बताए । ‘मधेशमा बस्ती सुधार गर्न आवश्यक छ । चुरेबाट बगेर आएको गेगर निकालेर आधुनिक बस्ती बनाउन जरुरी छ’, उनले भने, ‘हामीले चाहेको कृषि क्रान्ति हाम्रो आवश्यकता हो । पर्यटनको विस्तार पनि हामीले गर्नै पर्छ । पहाडको पानी र मधेशको जमिन मिलाउनु आजको आवश्यकता हो ।’

उनले मधेशका जनता पहाडमा भएका ठूला योजनाहरुको शेयर पाउनुपर्ने बताए । ‘मधेशको हित के गर्दा हुन्छ मधेशका नेताहरुले त्यतातिर बहस चलाउन जरुरी छ । मधेशी नेताहरु आफूले मधेश विरोधी भनेका नेताहरुसंग मन्त्री पदका लागि सहकार्य गरिरहेका छन्’, उनले भने, ‘मधेशी दलका नेताहरुले मधेशको नारा जनताका लागि होइन आफ्ना लागि हो । जनताको लागि लड्ने पार्टी को हुन भन्ने छुट्याउन जरुरी छ ।’

संसदको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको भन्दै वरिष्ठ नेता पौडेलले दोषीलाई कारबाही गर्नुको साटो प्रधानमन्त्री ओलीले दोषीलाई संरक्षण गरेको बताए । ‘लेखा समितिमा नेकपाको बहमत छ, त्यो समितिले वाइड बडीमा भ्रष्टचार भएको छ भनेको छ । अनि प्रधानमन्त्री त्यहाँ भ्रष्टचारमा आरोप लागेका मन्त्री निर्दोष छन् भन्ने गरेका छन्’, उनले भने, ‘यो कुरा भन्न मिल्छ ? प्रधानमन्त्री अख्तियारको प्रमुख हो ? उहाँ प्रधानन्यायधीश हो ?’

पौडेलले कम्युनिस्ट सरकार संघीयताको विरोधमा लागेको बताए । मधेशमा आएको अधिकारका बारेमा तराईका नेताहरु किन बोल्दैनन् भनेर उनले प्रश्न गरे । ‘अहिले प्रधानमन्त्री आफूमा सम्पूर्ण अधिकार केन्द्रित गरेर अधिनायकवादतर्फ उन्मुख छन्’, उनले भने, ‘पैसाको बलमा राजनीति आफ्नो पक्षमा लिने काम बढिरहेको छ । यो कुरा रोक्न जरुरी छ । हामीले देशलाई सुशासनको बाटोमा हिडाउन जरुरी छ ।’
‘यो सरकार सुरक्षा सुशासन र विकास तीन काममा नै असफल भइसक्यो । शान्ति सुरक्षाको अवस्था दिनानुदिन खस्कदै छ’, उनले भने, ‘भ्रष्टचार बढेको बढै छ । विकास निर्माणको काम शून्य छ ।’

नेता पौडेलले विप्लवको कुरा स्वयमं प्रचण्डलाई थाहा भएको भन्दै अहिले आएर फेरि प्रतिबन्ध लगाउने कुरा किन भएको छ भनेर प्रश्न गरे ।
‘अहिले देशका संबैधानिक निकाय के हेरेर बसेका छन् ? अहिले अख्तियारमाथि प्रश्न उठेको छ । सबै संवैधानिक निकायलाई सरकारले दुईतिहाईको धम्की दिएर राखेको छ’, उनले भने, ‘सबै ठूला नेताहरु एकै ठाउँमा धेरै अनियमिततामा देखिएका छन् । ठूला ठूला काण्डहरुलाई हामीले रोक्न सकेनौँ भने लोकतन्त्र नै खतरामा पर्दछ ।’

उनले नेपाली कांग्रेस पार्टीभित्र सुधारसहितको एकता आवश्यक रहेको बताए । ‘लोकतन्त्र बलियो भएमात्र मधेश बलियो हुन्छ । लोकतन्त्र बलियो भएका बेलामा मधेशी जनताका आवज सुनिन्छ’, उनले भने, ‘सबै नेपाली बराबर भन्ने लोकतन्त्रले ल्याएको छौं । भाषा आयोग हामीले बनाएको हो । प्रजातान्त्रीक समाजवाद र कम्युनिष्टको समाजवाद धेरै फरक छ । यो विषयमा बहस हुनु जरुरी छ । नेपाल बहुभाषिक बहुधार्मिक देश हो ।’

Published : Sunday, 2019 March 24, 10:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया