कम्युनिस्ट मुक्त देश बनाउने कांग्रेस नेता लेखकको घोषणा

बैतडी । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले कम्युनिस्ट मुक्त नेपालको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीद्वारा डिलासैनी गाँउपालिकामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा लेखकले देशलाई कम्युनिस्ट मुक्त बनाउनुपर्ने बताएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य लेखकले नेपाली कांग्रेसको नेतृत्वमा राणा शासन, निरंकुश पञ्चायत, राजाको प्रत्यक्ष शासन र १० वर्षसम्म माओवादीको हत्या, हिंसा र आतंकको अन्त्यको नेतृत्व गरी गणतन्त्र स्थापना गरेकाले अब नेपालबाट कम्युनिस्ट मुक्त नेपालको नेतृत्व पनि कांग्रेसले नै गर्ने बताए ।

कम्युनिस्ट सरकार आफ्नै कारणले ढल्ने बताउँदै कांग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘सरकारले जनता समक्ष बोलेका झुठ्ठा कुराप्रति जनता निराश र कामकारबाहीप्रति सतारुढ पार्टीभित्र नै असन्तुष्टि बढेको छ ।’

‘कम्युनिस्टहरूलाई संघीयता र गणतन्त्र आन्दोलनबाट आउँछ भन्ने कुरामा विश्वास नै थिएन’, उनले भने ।

जिल्ला कार्य समिति सभापति नेरेन्द्रसिंह थापाले कम्युनिष्ट सरकार संघीयता बिरोधी रहेको बताए ।

उनले २०६२–६३ मा बिस्तृत शान्ति सम्झौतामा एमालेका नेताहरूको घरमा गएर हस्ताक्षर गराएको स्मरण गरे ।

पूर्व राज्यमन्त्री नरबहादुर चन्दले सुदृढ र एकताबद्ध कांग्रेसले मात्र कम्युनिस्ट सरकारबाट निरास जनतालाई आशावादी बनाउन सकिने बताए ।

उनले वर्तमान सरकारबाट संविधान असुरक्षित रहेको र सरकारका गतिविधि संविधान विपरितका गतिविधि बढ्दै गएकाले संघीयता नै जोखिममा रहेको बताए ।

Published : Monday, 2019 March 25, 7:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया