कम्युनिस्टहरूसँग जुध्न कांग्रेसमा भावनात्मक एकता हुनुपर्छः डा.शशांक कोइराला

बर्दिया । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफू कांग्रेसमा भावनात्मक एकताका लागि अभियान थालेको बताएका छन् ।

सोमबार बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनपछि ठाकुरबाबा नगरपालिकामा कांग्रेस नेता कार्यकर्ताहरूसंगको अन्तरक्रिया कार्यक्रममा महामन्त्री डा.कोइरालाले मुलुकमा कम्युनिष्टहरू एक भएको अवस्था कांग्रेसका नेता तथा कार्यकर्ताका बीचमा भावनात्मक एकता हुनुपर्ने बताए ।

आफूले कांग्रेसमा भावनात्मक एकताको अभियान थालेको भन्दै डा.कोइरालाले नेता तथा कार्यकर्ताहरूलाई साथ दिन पनि अपील गरे । उनले भने, ‘मुलुक कम्युनिस्टमय भएको छ । यो अवस्थामा कांग्रेसमा भावनात्मक एकता भएन भने लोकतन्त्रमाथि खतरा हुन्छ ।’

‘त्यसैले अब कांग्रेसमा भावनात्मक एकता जरुरी भइसक्यो’, उनले भने, ‘मैले त्यही भएर कांग्रेसमा भावनात्मक एकता गराउने अभियान शुरु गरेको हो ।’

महामन्त्री डा.कोइरालाले कम्युनिस्टहरू निरकुशतातर्फ अगाडि बढेको आरोप लगाए । उनले प्रधानमन्त्री खड्गप्रसाद ओलीले सेनालाई आफ्नो मताहतमा राखेर निरंकुशतातर्फ उन्मुख हुन लागेको बताए । डा.कोइरालाले भने, ‘राजनीतिबाट मुक्त रहेको नेपाली सेनालाई प्रधानमन्त्री मताहतमा ल्याएर सेनामाथि नियन्त्रण गर्न खोजिदै छ ।’

डा.कोइरालाले भने, ‘यसले मुलुकको लोकतन्त्रमाथि खतरा शुरु भएको छ ।’ उनले कम्युनिस्ट सरकारले मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको पनि बताए ।

महामन्त्री डा.कोइरालाले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको असन्तुष्टिलाई समयमा नै समाधान गर्नुको साटो प्रतिबन्ध लगाएर मुलुकलाई द्वन्द्वामा फसाउन कम्युनिस्ट सरकार लागेको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, कल्याण गुरुङ, बद्री पाण्डेल, बद्रिया कांग्रेसका सभापति एवम् सांसद सञ्जय गौतम, किशोरसिंह राठौरसहितका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Monday, 2019 March 25, 8:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया