कांग्रेससँग आत्तिए ओली, गाउँमा ‘अरिँगाल’ परिचालन !

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने दाबी गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले नक्कली कम्युनिस्ट विप्लव समूहका हिंसा कुनै पनि हालतमा नियन्त्रण गर्ने बताए ।

‘उहाँहरू सहमतिमा आए ठीकै छ । नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैत महिनाभित्रै सरकारले नियन्त्रण गर्छ’, उनले भने, ‘विकास निर्माणमा अवरोध, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने, मान्छे मार्ने अनि हंसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै ।’

प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन सकिएकाले सांसदहरूलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन् ।

जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरूको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

उनले नेपाली कांग्रेसले सरकारले गरेका राम्रा कामलाई नराम्रो भनेर प्रचार गरेको भन्दै गाउँमा गएर नेकपा र सरकारको बचाउ गर्न निर्देशन दिए ।

‘तपाईंहरू जिल्ला र क्षेत्र जानुस् । सरकारले गरेका कामहरूको प्रचार गर्नुस्’, ओलीले भने, ‘जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुस् । आगामी वर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुस् ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहको पार्टी एकताको बारेमा जनताले सांसदहरूसँग धेरै प्रश्न सोध्न सक्ने बताए । अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकाले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘केन्द्रमा एकीकरण भएको महिना दिनभित्रै सबै कमिटीको एकता सकिनु पर्थ्यो यसमा अनावश्यक विलम्ब भएको छ’, उनले भने, ‘अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्कने वित्तिकै एकताका सबै काम टुंगिन्छन् ।’

प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढीरहेको दाबी गरे । नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको बताए ।

‘देशमा नेकपा जस्तो स्पष्ट नीति, लक्ष्य भएको अर्को पार्टी छैन । हाम्रो स्पष्ट लक्ष्य छ । समृद्धि सहितका सुखी नेपाली’, प्रधानमन्त्री ओलीले भने, ‘यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ ।’

Published : Monday, 2019 March 25, 8:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया